
उदयपुर, माघ ६ गते ।
नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरिक्षक ठूले राईले जिल्ला प्रहरी कार्यालय उदयपुरको भवन सिलान्यास गर्दै देश र जनताको प्रभावकारी सेवामा कुनै कसुर बाँकी नराख्न दिर्नेशन दिनुभएको छ ।
भवन निर्माणपछि गुणस्तरीय सेवा प्रदानमा थप मद्दत पुग्ने भएपनि सुविधा सम्पन्न भवन नहुँदाको अवस्थामा पनि नेपाल सरकारले दिएको जिम्मेवारी र सेवामा गुणस्तर कम गर्ने छुट प्रहरीमा नरहेको बताउनुभयो । भईरहेको सेवामा थप गुणस्तरीयता थप्ने प्रयास गर्न प्रोत्साहित गर्दै उहाँले घटना, अनुसन्धानका चुनौतीलाई सहि विश्लेषणका साथ समाधान गर्नुपर्ने बताउनुभयो ।
उहाँले भवन निर्माण समयमा र पूर्णगुणस्तरीयरुपमा सम्पन्न गर्न ठेकेदार कम्पनी र प्रत्यक्ष निगरानी र अनुगमनका साथ सहयोग गर्न जिल्ला प्रहरी युनिटलाई निर्देशनसहित अनुरोध गर्नुभयो । संयोगवस आफु जिल्लाबासी र प्रहरी प्रधान कार्यालयको तत्कालिन मानव स्रोत तथा प्रशासन प्रमुख भएकाले बजेट तर्जुमाको सुरुदेखि अन्तिमसम्म भूमिका खेल्न पाएको र सिलान्याससमेत आप््mनै हातबाट भएकोले समयमै र गुणस्तरीयरुपमा भवन निर्माण हुँदा व्यक्तिगतरुपमा पनि सन्तुष्ट हुने बताउनुभयो ।
नेपाल सरकारको ९ करोड ३२ लाख, ४६ हजार रुपैयामा सुविधा सम्पन्न भवन डेडवर्ष भित्रमा निर्माण गर्ने गरी निर्माण कम्पनी आशिस÷आशिर्वाद जेभी, उदयपुरले ठेक्का पाएको छ । ठेकेदार कम्पनीका प्रोपाईटर केशर बुढाथोकीले तोकिएको समयअघि नै सम्पन्न गर्ने कोशिस रहने बताउनुभएके छ ।
कार्यक्रममा त्रियुगा नगरपालिकाकी उपमेयर देवीकुमारी चौधरी, १ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक ठाकुरप्रसाद ज्ञवाली, संघीय प्रहरी इकाई धरानका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक शौरभ राणा, १ नं. प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरिक्षक पुरुषोत्तम कडेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का लगायतको विशेष उपस्थिति रहेको थियो ।
जिर्ण अवस्थाको पुरानो भवन गत २०७२ को महाभुकम्पले थप क्षती पुर्याए पछि प्रहरीको कार्य सम्पादनमा अप्ठ्यारो परेको थियो । प्रहरी कार्यालय परिषरमा निर्माण हुने कार्यालय भवनसंगै व्यारेक भवन, सिनियर अधिकृत क्वाटर, कार्यालय प्रमुख निवास, मेस भवनको पनि सिलान्यास भएको छ । नेपाल पूर्व प्रहरी संगठनको भवन पनि सिलान्यास भएको छ । ती सबै भवनहरुको एकसाथ निर्माण कार्य हुने जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बढामगरले बताउनुभयो ।
