Wednesday, April 22News That Matters

प्रभु बैंकबाट सवा करोड रुपैयाँ गायब, मार्केटिङ म्यानेजर फरार

पूर्णपुष्टि, साउन १७ । झापामा प्रभु बैंकको स्थानिय शाखामा एक पत्रकारले राखेको १ करोड १० लाख ४३ हजार रुपैयाँको फिक्स्ड डिपोजिट रहस्यमय तरिकाले गायब भएको छ।

गत माघ ३ गते पत्रकार टीकाराम नेपालले आफ्नी श्रीमती मन्जु कुमारी नेपालको नाममा उक्त रकम ६ महिनाका लागि फिक्स्ड डिपोजिटमा राखेका थिए। अमेरिका भ्रमणबाट फर्किएपछि मंगलबार रकम झिक्न जाँदा खातामा कुनै रकम नभएको पाइयो। बुधबार पत्रकार सम्मेलन गरी नेपालले घटनाबारे सार्वजनिक गरे।

बैंकले आफ्नो मार्केटिङ म्यानेजर प्रमोद सिटौलामाथि रकम अपचलनको आरोप लगाएको छ। सिटौला बुधबार बिहानदेखि सम्पर्कविहीन छन्। बिर्तामोडस्थित एक होटलमा सिटौलाको झोला फेला परेको छ। प्रहरीले झोला खानतलासी गर्दा विभिन्न व्यक्तिका नामका किर्ते हस्ताक्षर गरिएका चेक, एटीएम कार्ड र बैंक भौचरहरू फेला परेका छन्।

टीकाराम नेपालले जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएका छन्। बैंकका म्यानेजर गणेशबहादुर बरालले घटनाबारे मुख्यालयलाई जानकारी गराइएको र बिहीबार केन्द्रीय छानबिन टोली आउने जानकारी दिए। प्रभु बैंकले घटनाको पूर्ण छानबिन गरी दोषीमाथि कारबाही गर्ने र पीडितलाई क्षतिपूर्ति दिने आश्वासन दिएको छ।