
विपद् व्यवस्थापन, पर्यटन प्रवर्धन र खेलकुदमासमेत योगदान
पूर्णपुष्टि, उदयपुर, साउन १६ ।
हालै सरुवा हुनु भएका श्री पशुपतिप्रसाद गण, बोक्सेका प्रमुख सेनानी शिवप्रसाद वाग्लेको दुईवर्षे नेतृत्वदायी कार्यकालमा उदयपुर जिल्लामा थुप्रै जनहितका काम भएका छन् । उहाँको कुशल नेतृत्व, जनहितका काम र विपद् उद्धार तथा व्यवस्थापन कार्यले जिल्लाबासीको मन जितेको छ ।
उहाँको कार्यकाल अत्यन्तै सहयोगी र समन्वयकारी रहेको रौतामाई गाउँपालिका अध्यक्ष बिरेन्द्र मगरले बताउनुभयो । “रौतामाईले कहिल्यै विर्सन नसक्ने गरी भुट्टारमा हेलिप्याड निर्माणको काम भएको छ” उहाँले भन्नुभयो ।
लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले नेपाली सेनालाई नागरिकसंग जोड्ने काम गणपति वाग्लेबाट भएको बताउनुभयो । “पर्यटन विकास र प्रवर्धनमा योगदान गरेर नेपाली सेनाले पनि नागरिकको जिवन स्तर उकास्न र आर्थिक उन्नतीमा भुमिका खेल्न सक्ने दृष्टान्त प्रस्तुत गर्नु भएको छ” उहाँले भन्नु भयो – उहाँले उदयपुरलाई थुप्रै उपहार छोड्नु भएको छ । प्रथम उपहार पदमार्ग र पर्यटकीय क्षेत्र प्रवर्धन हो, यसमा उहाँको ठुलो भुमिका रहेको छ ।
गणपति वाग्लेको कार्यकालमा जिल्लाको दुर्गम स्थानमा हेलिप्याड निर्माणदेखि ऐतिहासिक किल्लाहरुको संरक्षण, पदमार्ग पहिचानसंगै पदयात्रासम्मको महत्वपुर्ण कामहरु भएका छन् ।

रौतामाई गाउँपालिकाको भुट्टारमा गाउँपालिकाहरु मध्ये एकमात्र पहिलो नागरिक मैत्री हेलिप्याड निर्माण गरि २०८० माघ १७ गते पालिकालाई हस्तान्तरण भएको छ । हेलिप्याडले ग्रामिण भेगमा जटिल प्रकृतिको विपत्तीमा नागरिकको उद्दारमा सहजता पुर्याउनेछ । 

२०८१ पौष २१ गतेदेखि २७ गतेसम्म जिल्लामा पहिलो पटक गढीदेखि गढीसम्म पदयात्रा सम्पन्न गरिएको थियो । ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर उक्तबेला पालिकाहरुसंगको समन्वयमा जिल्ला स्थित दुई महत्वपूर्ण ऐतिहासिक गढी उदयपुरगढीदेखि चौदण्डीगढीसम्मको पदयात्रा भएको थियो । उक्त पदयात्रा ऐतिहासिक किल्लाहरुको प्रचारप्रसार, प्रवर्धन, पर्यटनको विकास तथा प्रवर्धन तथा नागरिक र नेपाली सेनावीचको सम्बन्ध प्रगाढ बढाउन सफल भएको यात्रामा सहभागिहरुको प्रतिक्रिया रहेको छ । उक्त यात्रामा नेपाली सेना, अन्य सुरक्षा निकाय, विभिन्न गाउँपालिकाका जनप्रतिनिधि, पर्यटन व्यवसायी, होटल व्यवसायी, खेलाडी, शिक्षक, विद्यार्थी, कर्मचारी, नागरिक समाज लगायतको सहभागिता थियो । 

त्यसैगरी २०८१ भदौ २९ गते श्री नं. १८ वाहिनी, भुल्केका तत्कालिन बाहिनीपति गौरव गुरुङको विशेष उपस्थितिमा चौदण्डीगढीमा पदयात्रा, सोही सालको कार्तिक १० गते फुलपातीका दिन ऐतिहासिक गढी, किल्ला, एकिकरण उद्यानको सम्बर्धन तथा संरक्षण कार्यलाई मद्दत पुर्याउने साथै वाहिनीपति मनोज वैदवारद्वारा उदयपुरगढीमा कालिका देवीको मुर्ति प्रतिस्थापन, सलामी अर्पण, बढाई, राष्ट्रिय झण्डोत्तलन तथा सलामी कार्यक्रम सम्पन्न गरिएको थियो । सोही महिनाको १५ गते ऐतिहासिक किल्लाको पहिचान तथा प्रवर्धनको उद्देश्यले तत्कालिन १८ नं. वाहिनीपति गुरुङ र प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे समेतको विशेष उपस्थितिमा ७० जनाको उदयपुरगढी पदयात्रा भएको थियो ।
नेपाल एकिकरण अभियानको क्रममा विशेष महत्व रहेको चौदण्डीगढी परिसरमा चारकोठे पक्की शौचालय निर्माण गरी २०८२ बैशाख २८ गते चौदण्डीगढी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । 

त्यस्तै २०८१ फागुन १६ र १७ गते २६२ औं सेना दिवस तथा महाशिवरात्रीको अवसरमा “साईकल फर हेल्थ, राईड फर युनिटी” भन्ने नाराका साथ जिल्ला सदरमुकाम गाईघाटदेखि चतरा इलाकासम्म पुगेर भुल्के स्थित श्री नं. १८ बाहिनी, ब्यारेकसम्मको “राईट टु कोशी” कार्यक्रम गरिएको थियो । 

जिल्लाको पर्यटन प्रवर्धनको उद्देश्यले बाघखोर–लिम्चुङबुङ–हलेसी पदयात्रा (हाल ढाक्रे ट्रेइल नामाकारण) को प्रारम्भिक अध्ययन तथा पदमार्ग पहिचानमा महत्वपूर्ण भुमिका निर्वाह गरेको छ ।
सर्पदंश उपचार नेपाली सेनाको नागरिक प्रतिको अर्को एक महत्वपूर्ण सेवा बनेको छ । कटारी नगरपालिका १ स्थित सामुदायिक सर्पदंश उपचार केन्द्रको कार्यविधि तथा मस्यौदा तयार गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै सर्पदंशमा २५७ जना विरामीको उपचार गरेको छ । त्रियुगा नगरपालिका ३ भुल्के स्थित सर्पदंश उपचार केन्द्रमा पनि विशेष सेवा प्रदान भइरहेको छ ।
विभिन्न दुर्घटना, प्रसुती लगायतका संवेदनशिल घटनामा परेका ६५ जनालाई गणका सकलदर्जाद्वारा रक्तदान भएको छ । गणले बेलका नगरपालिका–२ भागलपुरमा गत असार १९ गते २०० घरधुरीका आश्रित परिवारलाई लाभ पुग्नेगरी स्वास्थ्य शिविर सञ्चालन गर्यो ।




विपद्मा नेपाली सेना अग्रपंत्तिमा खटिएर उद्धार तथा सहयोग गर्ने गरेको छ । गत वर्षको बर्षामा सप्तकोशी बाढी पसेर डुबान भएको बेलका नगरपालिका –३ एविसि टापु र एकता टोलमा डुवानमा फसेका ३६ घरधुरीका २१ वालवालिका सहित १२७ जना स्थानीयबासीलाई उद्धार गरेको थियो । त्यस अघिको बर्षामा पनि सोही ठाउँका ८१ जना स्थानीयबासीको उद्धार गरेको थियो ।
त्यसैगरी सदरमुकाम गाईघाट उच्च जोखिममा पर्नेगरी बरुवाखोलाको बाढी कटान रोक्न त्रियुगा नगरपालिका–११ ढिम्की, शिव मन्दिर क्षेत्रमा गणले जनशक्ति परिचालन गरी तटबन्ध निर्माण कार्य गरी जनधनको क्षती रोक्ने काम भएको छ । सुख्खा मौसममा विभिन्न ठाउँमा हुने आगलागीमा उद्धार तथा नियन्त्रणको भुमिका निर्वाह गर्नुका साथै वन क्षेत्रमा अग्निरेखा बनाउने काम भएका छन् । 

जनचेतनामुलक सम्बन्धी अभ्यासहरु थुप्रै भएका छन् । गत जेठ १८ र १९ गते त्रि.न.पा. ६ जलजले स्थित पोखरीमा बर्षाबाट बाढी, डुवान एवम् पहिरोबाट हुनसक्ने क्षती न्युनिकरण गर्न सहयोग पुग्ने हेतुले अभ्यास गरिएको थियो । गत २०८१ चैत ५ देखि ७ गतेसम्म जिल्ला विपद् जोखिम न्यूनिकरण, पूर्वतयारी तथा प्रतिकार्यमा समुदायको सक्रिय सहभागिता र क्षमता अभिबृद्धिका लागि गण र हुरेण्डेक संस्थाको संयुक्त आयोजनामा तालिम तथा अभ्यास कार्यक्रम सञ्चालन गरिएको थियो ।
त्यस्तै आगलागीबाट हुने धनजनको क्षतीलाई न्युनिकरणमा आधारित उद्देश्यले २०८० पुस २१ गते उदयपुरगढी–२ मा जानकारीमुलक कक्षासहित वास्तविकतामा आधारित रही अभ्यास संचालन गरिएको थियो । सोही वर्षको जेठ ५ गते बेलका न.पा. -८ कोठुमा सप्तकोशी नदीमा विभिन्न सुरक्षा निकाय तथा सरोकारवालाहरुसंगको समन्वय र सहकार्यमा संयुक्त विपद् प्रतिकार्य तथा अभ्यास प्रदर्शन गरिएको थियो । 

बरिष्ठ पत्रकार एवम् उदयपुरको इतिहासका लेखक कौशल चेम्जोङले देशमा संकटको बेला पनि नेपाली सेनाबाट इतिहासलाई सम्झाउने काम भइरहेको बताउनुभयो । गणपति वाग्लेको नेतृत्वमा उदयपुरको इतिहासलाई जिवित बनाउने महत्वपूर्ण कामहरु भएको चेम्जोङको भनाई छ । “पुरानागढीका साथै ऐतिहासिक, सांस्कृतिक मात्र नभएर सामरिक महत्वको कुराहरुको संरक्षण गर्ने, नयाँ स्वरुप दिने काम भएको छ” उहाँले भन्नुभयो “हाम्रा पितापूर्खा हिडेका पुराना पदमार्गहरुको खोजी र पहिचान गरी त्यसलाई पछ्याउने काम आफैमा महत्वपूर्ण छ” ।
साईक्लिङ, प्याराग्लाइडिङ, राफ्टीङ्ग जस्ता आधूनीक कुरालाई पनि जोडेर पर्यटन प्रवर्धन र जनताको मनोभाव बुझेर जनतालाई एकाकार गराउने काम हुनु सुखद पक्ष रहेको भनाई बरिष्ठ पत्रकार चेम्जोङको रहेको छ ।
जिल्ला ब्याड्मिन्टन संघ, उदयपुरका अध्यक्ष कालिदास राई (किसन) ले नेपाली सेनाले जहिले पनि देशको रक्षाका लागि लड्दै आएको जानकारीका बीचमा प्रमुख सेनानी वाग्लेको कार्यकालमा नागरिकसंग पनि नजिक भएर नागरिकमैत्री थुपै कामहरु भएको देखिएको बताउनुभयो । वहाँको कार्यकालमा विपद् व्यवस्थापन, पर्यटन प्रवर्धनका साथै खेल क्षेत्रमा पनि योगदान पुर्याएको अध्यक्ष राईले बताउनुभयो । 

गणपति वाग्ले सरुवा पश्चात उहाँलाई विभिन्न संघसंस्था, नागरिक समाज, उदयपुर ब्याडमिन्टन संघ, कर्मचारी लगायतले विदाइ गरेका छन् । उहाँको सट्टामा गणपतिको रुपमा प्रमुख सेनानी मनोज कार्की नियुक्ति भई आउनु भएको छ ।
