Friday, April 17News That Matters

उदयपुरमा ८१ वर्षमा पहिलोपटक नागरिकता

पूर्णपुष्टि/उदयपुर, साउन १६ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरबाट ८१ बर्षिया बृद्धा कालमाया राईले पहिलो पटक नागरिकता आज पाउनु भएको छ । चौदण्डीगढी नगरपालिका, वडा नं. ४ ठेगाना रहेको बृद्धा राईले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलबाट वंशजको आधारमा नागरिकता पाउनु भएको हो ।
“७० वर्षदेखि पाउनुपर्ने जेष्ठनागरिक भत्ताबाट बञ्चित ८१ वर्षिया बृद्ध नागरिकता विहिन रहेको सुचना प्राप्त भयो । जनप्रतिनिधि सम्पर्कमा आउनुभयो । सम्बन्धीत वडा र स्थानीयबासीसंग बुझदा नेपाली नागरिक ठहर भएपछि नागरिकता प्रदान गरिएको हो ।” प्रजिअ लुइटेलले बताउनु भयो “नागरिकता पाएसंगै वहाँले सबैखाले नागरिक हल प्राप्त गर्नुभएको छ ।”२००१ साल बैशाख १ गते जन्म रहेको उहाँ हालसम्म नागरिकता नवनाइ बस्नु भएको थियो । खोटाङको जन्तेढुंगा गाउँपालिका–२ मा जन्मेर विवाहपछि उदयपुर बस्दै आउनु भएको वहाँले स्थानीयबासी र वडाध्यक्षको सहयोगमा प्रशासन पुगेपछि नागरिकता पाउनु भएको हो । नागरिकतासंगै वहाँको राष्ट्रिय परिचयपत्र नम्बर पाउनु भएको छ भने बृद्धाभत्ताका लागि प्रक्रिया अगाडि बढेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल : तस्विर – सुनिल राई/पूर्णपुष्टि

स्थानीय प्रशासन, वडा र स्थानीयबासी सबैको साझा पहलमा ८१ वर्षिया आमाले नागरिकता पाएको वडाध्यक्ष लुङ्गाराज राईले बताउनुभयो । वहाँले ब्यक्तिगतरुपमा पहल गर्न नसक्नु भएको र परिवारबाट पनि सहयोग नभएकोले हालसम्म नागरिकताविहिन हुनुभएको बुझिएपछि आवश्यक पहल गरिएको वहाँले बताउनुभयो ।नागरिकता पाएकोमा कालमायाले खुसी ब्यक्त गर्नुभयो । नागरिकता पाउनु धेरै ठुलो कुरो रहेछ भन्ने लागेको उहाँले बताउनुभयो । तीन छोरा र दुई छोरीकी आमा उहाँको श्रीमान्को स्वर्गरोहण भइसकेको छ । उहाँको आर्थिक अवस्था कमजोर रहेको छ । यति धेरै उमेरमा पहिलो पटक नागरिकता पाउने नागरिकमा उहाँ सम्भवः पहिलो हुनुहुन्छ ।