
पूर्णपुष्टि, असोज २१ । झापाको बिर्तामोडमा दुर्गा प्रसाईं पक्राउको विरोधमा उनका समर्थकले आगजनी गरेको भारतीय ट्रकका चालकको उपचारको क्रममा मृत्यु भएको छ । केही समयअघि बिर्तामोड नगरपालिका-६ गिरिबन्धु टि-स्टेट नजिक प्रसाईं समर्थकहरूले सुनसरीको दुहबीबाट जुट लिएर आउँदै गरेको भारतीय ट्रकमा आगजनी गरेका थिए ।
ट्रकका चालक भारत इस्लामपुर निवासी ४० वर्षीय प्याड रोयको दाहिने हात र ढाड जलेर गम्भीर घाइते भएका थिए । उनको बीएण्डसी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नर्थ बंगाल मेडिकल कलेजमा लगिएकोमा शनिबार मृत्यु भएको हो ।
मृतकका आफन्तले आइतबार डेढ घण्टासम्म शवलाई नेपाल-भारत सिमानामा ल्याएर सडक अवरुद्ध गरेका थिए । त्यसपछि नेपाल र भारतीय प्रहरीको समन्वयमा शव नेपाल ल्याइएको छ र हाल मेची प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा नागरिक प्रतिरक्षा बलका झापा संयोजक भिम तुम्बापोसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । घटनामा १० देखि १२ जनाको समूहले आगजनी गरेको र ट्रकको अगाडिको भाग पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
