
पूर्णपुष्टि, असोज २१ । कास्की जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको कार्यक्रममा सहभागीलाई खाजामा ठगी गरेको पाइएपछि पोखराको मारवाडी भोजनालयलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । प्रशासनले आइतबार शिक्षा विकास तथा समन्वय एकाइमा लागुऔषधसम्बन्धी अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा सहभागी विभिन्न विद्यालयका प्रधानाध्यापक र कर्मचारी गरी ४० जनालाई खाजाका लागि पोखराको चिप्लेढुङ्गास्थित मारवाडी भोजनालयमा माग गरिएको थियो । भोजनालयले माग गरिएभन्दा निकै कम परिमाण र कम परिकारको खाजा उपलब्ध गराएर ठगी गरेको पाइएपछि प्रशासनले कारबाही गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीका अनुसार भोजनालयले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ खण्ड (ङ) बमोजिम कसुर गरेको पाइएकाले कारबाही गरिएको हो । सो दफामा वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य लुकाइछिपाइ वा झुक्याइ बिक्री गर्नेलाई २ लाखदेखि ३ लाखसम्म जरिवाना हुने व्यवस्था छ । प्रशासनका अनुसार यसअघि पनि उक्त भोजनालयविरुद्ध उपभोक्ताबाट गुनासो आउने गरेको थियो । तोकिएको मूल्य लिए पनि माग गरिएभन्दा कम परिमाण र कम परिकारको खाजा उपलब्ध गराएकाले तत्काल कारबाही गरिएको सहायक प्रजिअ क्षेत्रीले बताए ।
