
पूर्णपुष्टि÷गाईघाट, असोज ४ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका घटनाले सुरक्षा निकायको तयारी र रणनीतिमा गम्भीर कमजोरी देखाएको छ । दुई दिनको घटनामा ७४ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते अझै अस्पतालमा उपचाररत छन् ।
नेपाल प्रहरीको आन्तरिक रिपोर्टअनुसार आन्दोलनका क्रममा १२ सय ७६ वटा राइफल र पिस्तोल हराएका छन् । त्यसैगरी ९८ हजार ४ सय ९१ राउन्ड गोली बेपत्ता भएका छन् । यसमध्ये कति प्रहरीले प्रयोग गर्यो र कति लुटिएका हुन् भन्ने स्पष्ट छैन। १३ सय १५ राउन्ड रबर बुलेट पनि अभिलेखमा कम देखिएका छन् ।
प्रहरीले दुई दिनमा २२ सय २० पटक हवाई फायर गरेको छ भने ३२ सय २३ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसमा दिएको वक्तव्यमा प्रहरीसँग स्वचालित हतियार नभएको दाबी गरे पनि घटनास्थलबाट फरक तथ्य बाहिरिएको छ ।
नेपालका सुरक्षा निकायसँग भीड नियन्त्रणका लागि आवश्यक गैरघातक उपकरणहरू पर्याप्त छैनन् । राइट कन्ट्रोल गियर, अश्रुग्यास, ब्ल्यांक फायर, रबर बुलेट, वाटर क्यानन र दमकलजस्ता उपकरणको अभाव रहेको छ । प्रहरीले वर्षौंदेखि यी उपकरण खरिदका लागि आग्रह गर्दै आएको छ तर सरकारले ध्यान दिएको छैन ।
बरु प्रहरीसँग विभिन्न प्रकारका घातक हतियारहरू उपलब्ध छन् । ५४ चाइनिज पिस्तोल, ९ एमएम चाइनिज पिस्तोल, ९ एमएम यूएसए पिस्तोल, ९ एमएम बेरेटा पिस्तोल, ७.६ रिभल्भर, इन्सास र एसएलआर जस्ता हतियारहरू फिल्डमा खटिने प्रहरीसँग हुन्छन् । यी हतियारहरूको मारक क्षमता ३० मिटरदेखि ८०० मिटरसम्म हुन्छ ।
चालु आर्थिक वर्षमा प्रहरीका लागि हतियार खरिदमा १ अर्ब ९ करोड बजेट विनियोजन गरिएको थियो । ओली प्रधानमन्त्री र रमेश लेखक गृहमन्त्री रहेको बेला घातक हतियार खरिद प्रक्रिया अगाडि बढाइएको थियो । तर सशस्त्र प्रहरीका लागि भने हतियार खरिदमा बजेट विनियोजन गरिएको छैन ।
काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार सुरक्षा कमान्डले परिस्थितिको सही मूल्यांकन गरेर रणनीति बनाउन नसकेको छ । बल प्रयोगको प्रोटोकल पालना नगरी एकैपटक घातक बल प्रयोग गरिएको छ । प्रहरीले व्यावसायिकता र विवेक गुमाएर आन्दोलनकारीमाथि अत्यधिक बल प्रयोग गरेको छ ।
प्रहरीका पूर्व एआईजी प्रद्युम्न कार्कीका अनुसार सरकारले सुरक्षा निकायलाई कामचलाउ ढंगले परिचालन गरेको छ । गैरघातक उपकरणको सट्टा घातक हतियारमा मात्र ध्यान दिइएको छ । जेनजी आन्दोलनमा घातक बल प्रयोगको प्रोटोकल पालना गरिएको छैन ।
आन्दोलनको पहिलो दिन प्रहरीले बानेश्वरको भीड व्यवस्थापन गर्न नसकेपछि आन्दोलनकारीहरू संसद भवन प्रवेश गर्न खोजेका थिए । त्यसपछि संसद सुरक्षामा तैनाथ प्रहरीको विशेष कार्यदलले आन्दोलनकारीहरूको छाती र टाउकोमा गोली हानेको थियो ।
विशेषज्ञहरूका अनुसार भीड व्यवस्थापनका लागि माइकिङ, पक्राउ र लखेट्ने विधि, लाठी प्रहार, पानीको फोहोरा, हवाई फायर, रबर बुलेट प्रहार र त्यसपछि मात्र घातक बल प्रयोग गर्नुपर्ने प्रोटोकल छ । तर यो प्रोटोकलको पालना गरिएन ।
आन्दोलनपछिको आगजनीमा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, राष्ट्रपति भवन, प्रधानमन्त्री निवासलगायतका महत्वपूर्ण संरचनामा आगो लाग्दा निभाउनका लागि पर्याप्त दमकल र वाटर क्यानन उपलब्ध थिएनन् । यी उपकरण पर्याप्त भएको भए धेरै भवन जोगाउन सकिने थियो ।
विगतमा भएका कोरियन परीक्षा प्रदर्शन, बरहथवा घटना, तीनकुने प्रदर्शन र राजावादी प्रदर्शनमा पनि प्रहरीले अत्यधिक घातक बल प्रयोग गरेको थियो । तर सरकारले यी घटनाबाट सिकेको देखिंदैन ।
