Friday, May 1News That Matters

प्रहरीलाई श्रोत साधन सम्पन्न बनाए समाजमा शान्ति सुरक्षा प्रभावकारी हुन्छ : मुख्यमन्त्री कार्की

पूर्णपुष्टि, जेठ २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रहरीलाई श्रोत साधन सम्पन्न बनाए समाजमा शान्ति सुरक्षा प्रभावकारी हुने बताएका छन् ।

मुख्यमन्त्री कार्कीले सोमबार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण तथा अवलोकन भ्रमणको क्रममा सो कुरा बताएका हुन् । विपद्को घटना देखि लिएर समाजमा हुने विभिन्न अपराधिक गतिबिधि नियन्त्रणमा नेपाल प्रहरीले पहिलो पंक्तिमा रही महत्वपुर्ण भूमिका निर्वाह गरिरहेको बताउदै प्रहरीलाई श्रोत साधन सम्पन्न बनाए समाजमा शान्ति सुरक्षा प्रभावकारी हुनेमा आफु विश्वस्त रहेको मुख्यमन्त्री कार्कीले बताए ।

कुनै पनि नागरिक प्रहरी कार्यलयमा समस्या लिएर आउँदा निराशा लिएर फर्कन नपर्ने गरी प्रहरी सेवा प्रदान गर्न र बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गरी नागरिकहरुको चेतनाको स्तर बृद्धि गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले समस्या परेको मानिसले कि त ईश्वर कि प्रहरीको नाम लिने गरेको बताएका छन् । जहाँ प्रहरीको उपस्थिति छ त्याहाँ राज्य छ, ‘मन्त्री अधिकारीले भने’ प्रहरी देखेर अपराधी डराउने र सर्वसाधारण नागरिकले सुरक्षाको अनुभुति हुने गरी निरन्तररुपमा सेवा प्रदान गर्नुहोस् ।

निरीक्षण भ्रमणमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेल, कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।