
पूर्णपुष्टि, माघ ११ गते । यू–२२ एसियन बक्सिङ च्याम्पियनसिप फाईनलमा नेपाली खेलाडी सुष्मा तामाङ पराजित भएकी छन् । एसियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगिताको फाईनलमा पुग्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । फाईनल पुगेकी सुष्माले रजत जितेकी छन् । उनको उपलब्धि नेपाल बक्सिङका लागि अहिलेसम्मकै ठूलो हो ।
बुधबार भएको ४८ केजी तौलसमूहको फाइनल प्रतियोगितामा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भएकी हुन् । यसअघि उनले क्वाटरफाइनलमा भियातनामकी फाम थी किनहान र सेमिफाइनलमा मंगोलियाकी बाइसेनबाई जनरगुलीलाई पराजित गर्दै फाईनल प्रवेश गरेकी थिईन् ।
थाइल्याण्डको बैंककमा भइरहेको प्रतियोगितामा फरक तौलसमूहका ३ पुरुष र ३ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालका दुई महिला खेलाडी सहित एक पुरुषले कास्य पदक जितेका छन् ।
क्वाटरफाइनलमा सिंगापुरकी चाओ जी मिन बेरनिसलाई पराजित गरी सेमिफाइनलमा पुगेकी ५७ केजी समूहकी हुमा राईले कास्य पदक जितेकी छन् । भने बाइ पाएर सिधै सेमिफाइनलमा पुगेकी ७५ केजी समूहकी त्रिशा जगेबु र पुरुषतर्फ ८६ केजी तौलसमूहका विजय बाटाले पनि कांस्य पदक जितेका छन् ।
