
पूर्णपुष्टि, भदौ २६ गते ।
मोरङको लेटाङमा फुटबल हेर्न भनेर शनिबार बिहान घरबाट निस्किएका तीन बालिका बेपत्ता भएका छन् । लेटाङ नगरपालिका–३ की १३ वर्षीया रक्षा दर्नाल, लेटाङ–४ की १२ वर्षीया अनुष्का राई र १४ वर्षीया सविना राई बेपत्ता भएका हुन् ।
घरबाट फुटबल हेर्न भनेर अभिभावकलाई ढाँटेर उनीहरु बिहान ११ बजेतिर घरबाट निस्किएको पाइएको मोरङ प्रहरीले जनाएको छ । उनका अनुसार लेटाङ वरपर फुटबललगायत खेलकुदका कुनै प्रतियोगिता आयोजना गरिएको जानकारी छैन ।
तीनैजना बालिका लेटाङकै शान्ति भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययरत छन् ।
बिहान घरबाट निस्किएका छोरीहरु नफर्किएपछि अभिभावकले खोजी थालेका थिए । प्रहरीले भने घटनाका बारेमा आइतबार बिहान ६ बजेतिर मात्रै जानकारी पाएको भनाई छ । घरबाट हिँडेका बालिकाहरु साँझसम्म नफर्किएपछि अभिभावकले रातभर खोजी गरेको पाइएको छ । अवस्था पत्ता लाग्न नसकेपछि अभिभावकले प्रहरीलाई जानकारी गराएको जनाईएको छ ।
प्रहरीका अनुसार ढिलो गरेर घटनाको जानकारी आएकाले पनि खोजीमा समस्या भइरहेको छ । अभिभावक र स्थानीयको सहयोगमा खोजी तीव्र पारिएको भए पनि उनीहरुको अवस्थाका बारेमा कुनै जानकारी प्राप्त हुन नसकिरहेको प्रहरीले जनाएको छ ।
