Wednesday, April 22News That Matters

फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु

पूर्णपुष्टि, पुष ९ । उदयपुर र खोटाङ जिल्ला जोड्ने सगरमाथा राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान कार्य सुरु भएको छ । गत असोज १२ गते आएको अविरल बर्षा सहितको बाढीले उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे जोड्ने मोटरेबल पक्की पुल बगाएपछि यातायात सेवा अवरुद्ध भएको थियो ।

सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय उदयपुरले फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्न र खोल्नका लागि रु १.२९ करोड लागतमा निर्माण कम्पनीसँग सम्झौता गरेको छ । ठेकेदार कम्पनीले नदीमा पानी बढेपछि उक्त बजेटबाटै अस्थायी बेलिब्रिज खोलेर स्टोर गरी राख्नुपर्ने सम्झौतामा उल्लेख छ । सडक विभाग उदयपुरका प्रमुख इञ्जिनियर पशुपति ज्ञवालीका अनुसार निर्माण कम्पनिले पुष महिनाभित्र ५० मिटर लामो अस्थायी बेलिब्रिज जडान गरी यातायात सुचारु गर्नुपर्नेछ ।

हाल यात्रुहरूले रसुवाघाटसम्म गाडी चढेर झोलुङ्गे पुल हुँदै उदयपुरतर्फ पैदल यात्रा गर्नुपरेको छ । २०७९ सालमा निर्माण भएको १२० मिटर लामो पक्की पुल दुई वर्ष नपुग्दै बाढीले बगाएपछि जिल्लावासी फेरि अस्थायी बेलिब्रिजको भरमा यात्रा गर्न बाध्य भएका छन् । दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार (४९ किलोमिटर) खण्डको कालोपत्रे कार्य पनि ठेकेदार कम्पनीको लापरबाहीका कारण अलपत्र परेको छ ।