Friday, May 15News That Matters

फौजि किराको प्रकोपले धान उत्पादनमा कमी

उदयपुर, पुस ८ गते । 

अमेरीकन फौजी किराको प्रकोपले गर्दा उदयपुरमा धान उत्पादनमा कमी आएको छ । किराले पाक्न लागेको धानबाली खाएर नष्ट गरेपछि उत्पादनमा कमी आएको हो ।

चालु आर्थिक वर्ष २०७६/०७७मा करिब १२ हजार ७ सय ११ हेक्टरमा मात्रै धान लगाइएको थियो । त्यसमध्ये ३ सय ५० हेक्टर क्षेत्रफलको धान फौजी किराले खाएर नष्ट गरेको थियो ।

आव २०७६/०७७ मा ४७ हजार ९ सय २० मेट्रिक टन धान उत्पादन भएको छ । जुन प्रति हेक्टर ३ दशमलव ७७ मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्कले देखाएको छ । फौजी किराको प्रकोपले गत वर्ष भन्दा ४ हजार ७ सय ८१ मेट्रिक टन धान कम उत्पादन हुदा करिब २९ लाख २९ हजार रुपैयाँ बराबरको क्षति भएको कृिष ज्ञान केन्द्र उदयपुरका निमित्त प्रमुख नरनाथ रेग्मिले बताए ।

बेलकामा एक सय हेक्टर, उदयपुरगढी गाउँपालिकामा सात हेक्टर, त्रियुगा नगरपालिकामा दुई सय नौ हेक्टर र चौदण्डीगढी नगरपालिकामा ३४ हेक्टर क्षेत्रफलको धान, मकै फौजी किराले खाएर नष्ट गरेको तथ्याङकले देखाएको छ । किरको प्रकोपबाट तीन हजार एक सय ५३ घर परिवार प्रभावित भएको रेग्मीले बताए ।

आर्थिक वर्ष २०७५/०७६ मा करिब १३ हजार ३ सय ८० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । उक्त क्षेत्रफलमा ५१ हजार ५ सय १३ मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क छ । जुन प्रति हेक्टर ३ दशमलव ८६ मेट्रिक टन धान उत्पादन भएको छ ।

आव २०७४/०७५ मा १२ हजार ६ सय ६५ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो । उक्त क्षेत्रफलबाट ५१ हजार ३९ मेट्रिक टन धान उत्पादन भएको छ । जुन प्रति हेक्टर ४ दशमलव ०३ मेट्रिक टन उत्पादन भएको देखिन्छ ।

लामो समयसम्म लागेको खडेरीले गर्दा  गत साल भन्द यस वर्ष कम क्षेत्रफलमा धान लगाईएको भएपनि किराको प्रकोपले झनै कम धान उत्पादन भएको हो । जंगलको विभिन्न रुखमा देखा परेको किरा खाद्यबाली कोदो, मकै हुदै धानमा प्रवेश गरेपछि उत्पादन नै कमी आएको देखिएको छ ।

कृषीमा नयाँ प्रकोपको रुपमा देखिएको अमेरिकन फौजी किराको प्रकोप नियन्त्रण गर्नका लागि कृषकहरूमा जनचेतनाको कमी देखिएको छ । किरा नियन्त्रण गर्नका लागि फौजी किराको माउलाई पासो थापेर माउ नष्ट गर्नु नै उचिन हुने ज्ञान केन्द्रले जनाएको छ ।

किराको माउ मार्नको लागि राती बत्ती बालेर बत्ती मुनि बाल्टिनमा पानी राखेर मार्न सकिन्छ । धान बालीमा किरा लाग्दा २÷४ दिन खेतमा पानी लगाउँदा पनि नियन्त्रण गर्न सकिने रेग्मीले बताए । किराको प्यूपा जमिनदखि करिब एक मिटर भित्र हुने भएकाले पानीको खाल्टा बनाएर नियन्त्रण गर्न सकिने उनले बताए ।

सवै ठाउँमा पानी नहुने भएकाले अन्तिम उपाय भनेको विषदी नै रहेको ज्ञान केन्द्रले जनाएको छ ।