
पूर्णपुष्टि, साउन २३ । बंगलादेशमा हालै उत्पन्न राजनीतिक संकटका कारण नेपाल र बंगलादेशबीचको प्रस्तावित ऊर्जा व्यापार सम्झौता अनिश्चित बनेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंहका अनुसार पछिल्लो घटनाक्रमले गर्दा पावर ट्रेड एग्रिमेन्ट तत्कालका लागि स्थगित गरिएको छ।
साउनको दोस्रो साता नेपाल र बंगलादेशबीच बिजुली खरिद-बिक्री सम्बन्धी सम्झौता हुने तयारी थियो। तर बंगलादेशमा आन्दोलनले उग्र रूप लिँदै जाँदा यो सम्झौता पछाडि धकेलिएको थियो। सोमबार प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेपछि नेपालसँगको ऊर्जा सम्झौताको भविष्य अनिश्चित बनेको हो।
प्रवक्ता सिंहले राजनीतिक परिवर्तन भए पनि बंगलादेशको स्थायी सरकारसँग नियमित सम्पर्क भइरहेको र शान्त वातावरण बनेपछि प्रक्रिया पुनः अगाडि बढाइने बताए। पछिल्लो तयारी अनुसार यसै साता दुई देशबीच ऊर्जा खरिद-बिक्री सम्झौता हुने योजना थियो।
बंगलादेशले नेपालबाट पहिलो चरणमा ४० मेगावाट विद्युत् खरिद गर्ने योजना बनाएको थियो। गत जेठ २९ मा बंगलादेश सरकारले यस सम्बन्धी निर्णय गरेको थियो। दुई देशबीच ऊर्जा क्षेत्रमा काम गर्न सहसचिव स्तरको वर्किङ ग्रुप र ऊर्जा सचिव स्तरीय स्टेयरिङ कमिटी गठन गरिएको छ। भारतले समेत नेपालबाट बंगलादेशमा बिजुली निर्यात गर्न अनुमति दिइसकेको छ। यद्यपि, बंगलादेशको वर्तमान राजनीतिक अस्थिरताले गर्दा यो महत्वपूर्ण ऊर्जा सम्झौता अनिश्चित बनेको छ।
