Friday, May 1News That Matters

बडिगाडमा बाढी पहिरोले ५० परिवार विस्थापित

पूर्णपुष्टि, साउन २७ । बाढी र पहिरोका कारण बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा ५० परिवार विस्थापित भएका छन्। बडिगाड गाउँपालिका वडा नं. ९ को नयाँबस्ती र वडा नं. १० का आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारा लगायतका क्षेत्रका बासिन्दाहरू विस्थापित हुन पुगेका हुन्।

यसअघि गएको पहिरोमा ११ जनाको मृत्यु भएको र एक जना अझै सम्पर्कविहीन रहेको स्थानीय प्रशासनले जनाएको छ। विस्थापित परिवारहरू अहिले बिचल्लीमा परेका छन्। पहिरोका कारण खानेपानी र विद्युत् आपूर्ति अवरुद्ध भएको छ, जसले गर्दा बालबालिका र वृद्धवृद्धालाई विशेष समस्या परेको छ।

स्थानीय बासिन्दा भीमबहादुर बुढाका अनुसार धेरै घरहरू अझै पहिरोको जोखिममा रहेकाले मानिसहरू बस्ती छाडेर अन्यत्र जान बाध्य भएका छन्। बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले विस्थापित परिवारहरूलाई विद्यालय तथा सार्वजनिक स्थलहरूमा अस्थायी रूपमा बसोबास गराइएको जानकारी दिए। उनका अनुसार गाउँपालिकाले प्रारम्भिक चरणमा राहत वितरण गरिरहेको छ, जसमा खाद्यान्न, त्रिपाल र बत्ती जस्ता अत्यावश्यक सामग्रीहरू समावेश छन्। उपाध्यक्ष वनले थप जानकारी दिँदै भने, “हामी विस्थापितहरूको दीर्घकालीन व्यवस्थापनका लागि माथिल्लो तहको सरकारसँग छलफल गरिरहेका छौं।”