
पूर्णपुष्टि, असार ५ गते ।
बनेपामा चोरी गर्ने एक ब्यक्ति सुनवलमा पक्राउ परेको छ । बनेपाको हार्डवेयर पसलमा चोरी गरेर फरार व्यक्ति नवलपरासीको सुनवल–१ बाट पक्राउ परेको हो ।
जिल्ला प्रहरी कार्यालय, बनेपाको टोलीले चितवनको रत्नगर–१ का २७ वर्षीय प्रकाशजंग कुँवरलाई चोरीको रकम मध्ये १ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिम्सिनाको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको हो । कुँवरले घटनास्लथमा प्रयोग गरेको कपडा, जुत्ता, मोबाइलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत जेठ २८ गते कुँवरले तेन्डेल हार्डवेयर प्रा.लिको क्वारउन्टरमा ९ लाख ४ हजार २ सय ७५ रुपैयाँ चोरी गरेर फरार भएका थिए । कुँवरविरुद्ध जिल्ला अदालतबाट १० दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कुँवर पटके चोर हुन् । तिम्सिना इलाका प्रहरी कार्यालय, सुनवलमा कार्यरत रहँदा पनि उनी पक्राउ परेका थिए । र, भिमफेरी कारागारमा ३१ महिना जेल सजाय भुक्तान गरेर छुटेका थिए ।
