
पूर्णपुष्टि, चैत १८ ।
सामुदायिक वन उपभोक्ता महासंघ उदयपुरले कोरोना भाइरस विरुद्ध सरकारले स्थापना गरेको केन्द्रिय राहत कोष र स्थानीय सरकारहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
डिभिजन वन कार्यलय उदयपुर, डिभिजन वन कार्यलय त्रिवेणी र वन पैदावार व्यवसायीको प्रतिनिधिसहित आज बसेको बैठकले यस्तो निर्णय गरेको महासंघका अध्यक्ष कुशलबाबु बस्नेतले बताउनुभयो ।
अध्यक्ष बस्नेतका अनुसार राहत कोषमा एकमुष्ट २ लाख, २५ हजार ५ सय २५ रुपैया जम्मा गर्ने र जिल्लाको आठ पालिकाहरुलाई ५० हजारको दरले जम्मा ४ लाख रुपैया जम्मा गरिदिने निर्णय भएको छ ।
जिल्लाको ७५ वटै वडा कार्यालय, गाउँपालिका र नगरपालिकासंग समन्वय गरेर कोरोना भाइरस रोकथाममा सक्रिय हुने र मातहतका ३५० वटै बन समुहहरु सबैलाई आव्हान गर्ने निर्णय गरेको छ । साथै बन समुहहरुको सयभन्दा बढि भवनहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न पनि सकिने गरी निर्णय गर्दै जिल्ला प्रशासनलाई बैंठकको निर्णय जानकारी गराइएको छ । महासंघले सबै समुहलाई ५ हजारको दरले आर्थिक एकमुष्टमा महासंघको खातामा जम्मा गर्न अनुरोध गरेको छ । यसका साथै उपभोक्ताहरुलाई सरसफाईका लागि साबुन, सेनिटाइजर जस्ता खरिद गरी वितरण गर्न पनि भनेको छ ।
