Friday, June 19News That Matters

बाँदर आतंकले बस्ती रिँतिदै

पूर्णपुष्टि, माघ २२ गते ।
भोजपुरमा बाँदरले अत्यादिक स्थानीयहरुलाई सताईरहेको छ । बाँदरको बढ्दो उपद्रो र हैरानीले बस्तीनै खाली हुन बाध्य भएको छ । बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि भोजपुर तल्लो भेगका स्थानीयवासी बस्ती छाड्न बाध्य भएका हुन् । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा बाँदरको समस्या रहेको छ ।

रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय बाँदरको आतङ्क बढेपछि बस्ती छाडेर हिँडेका छन् । बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका हुन् । बाँदरले बस्तीमा पसेर दुुःख दिन थालेपछि यहाँ दशभन्दा बढी घर स्थानीयले गाउँ नै छाडेका स्थानीयवासी टेकबहादुर तामाङले बताए ।

अन्नबाली जोगाउन समस्या भएपछि बाध्य भएर बस्ती छाड्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । ‘बाँदरका कारण बस्ती नै खाली भएको छ’, उनले भने, ‘वर्षभरि खानका लागि लगाएको अन्नबाली छिनभरमा नष्ट पार्छ । बारीमा कटेरा बनाएर हेरचाह गर्दा पनि सम्भव हुँदैन ।’

दश–बाह्र वर्षसम्म कमै मात्रामा बाँदर लाग्ने गरेको भए पनि पछिल्लो समय तल्लो भेगका मानिस अन्यत्र गएपछि गाउँभरि नै बाँदरको आतङ्क बढेको टेम्केमैयुङ(६ कोटका स्थानीय इन्द्रबहादुर राईले बताए । बाँदरका कारण गाउँबस्तीमा बस्न नसक्ने अवस्था आएको उहाँको भनाइ छ ।

‘बाँदरले हामीलाई अति नै समस्यामा पारेको छ’, उनले भने, ‘बारीमा लगाएको हिउँदेबाली सम्पूर्ण नष्ट पारेको अवस्था छ । बाँदरले लगाएको बाली नष्ट पारेपछि यस वर्ष खेतमा गहुँ छरिन्, अन्नबाली जोगाउन अति नै समस्या छ ।’

बाँदर मकैको थाङ्ग्रा धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् ।

स्थानीयले स–साना टहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन् । बाँदर हेरचाह गर्नका लागि परिवारका दुईदेखि तीन जनाको काम नै त्यही हुने गरेको स्थानीयको भनाइ छ ।

बाँदरलाई यन्त्रउपकरण पड्काएर तर्साउने गरे पनि पछिल्लो समयमा टेर्न छाडेको भोजपुर नगरपालिका–५ का स्थानीय धनबहादुर थापाले जानकारी दिए ।

‘बाँदर धपाउने यन्त्र पड्काएर थर्साउँदा पहिला–पहिला त भाग्थे’, उनले भने, ‘अहिले त धपाउँदा टेर्दैनन् । भगाउन पनि गाह्रो छ । दशदेखि पन्ध्र मिनेटमात्र बालीमा पस्न पाए भने सखाप नै पार्छन् । बाँदरले हैरान बनाएको छ ।’

बाँदर नियन्त्रणका लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसादराई गाउँपालिका(४ दलगाउँका स्थानीय तीर्थबहादुर प्रधानले बताए ।