
उदयपुर, भदौ ११ गते ।
उदयपुरको रौतामाई गाउँपालिकाले बाढीपहिरोले पूर्ण प्रभावितलाई रातो रंगको जस्तापाता वितरण गर्ने भएको छ ।
पालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार गाउँ कार्यपालिकाले मंगलबार यस्तो निर्णय गरेको हो ।
पूर्णरुपले क्षती भई घर पुन निर्माण गर्नुपर्ने अवस्थाका परिवारलाई रातो रंगको जस्तापाता वितरण गरिने भएको हो । पालिकामा ८० घर बाढीपहिरोले पूर्णरुपले क्षती भई पुन निर्माण गर्नुपर्ने अवस्था रहेको छ । उनीहरु सबैलाई एकै किसिमको रातो रंगको जस्तापाता वितरण गरिने भएको छ ।
जस्तापाताको रातो रंगलाई २०७६ सालको बाढीपहिरो प्रभावित घरपरिवारको संकेतकै रुपमा राखिएकाले सबैलाई एकै किसिमको वितरण गरिने अध्यक्ष खड्काले बताए । “कुन वडामा कति प्रभावित थिए भन्ने कुराको सूचक रातो जस्तापाता नै हुनेछ ।” अध्यक्ष खड्काले भन्नुभयो “आठै वडामा एकै किसिमको जस्तापाता वितरण हुनेछ ।”
पालिकाका विस्थापित तथा प्रभावितहरुको नाममा राहतस्वरुप जनप्रतिनिधिहरुले प्रदान गरेको एक महिनाको सुविधा, कर्मचारीहरुले प्रदान गरेको एकदिनको तलब, पालिकाका प्रमुख सल्लाहकार अम्बरबहादुर रायमाझीले उपलब्ध गराएको ५० हजार १ सय १ रुपैया र पालिकाको तर्फबाट छुट्याईएको सातलाख रकमबाट जस्तापाता खरिद गरी वितरण गरिने जनाइएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईका अनुसार पालिकाले प्रभावित लाभग्राहीका रुपमा सूचना प्रकाशन गरी वडा कार्यालयमार्फत प्रक्रियागत ढंगले जस्तापाता वितरण गर्नेछ । वडा कार्यालयमार्फत सम्झौता गरी प्राविधिकसमेतको मूल्यांकनको आधारमा प्रभावित परिवार वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत राईले बताए ।
