Tuesday, April 21News That Matters

बाढीले पुल बगाएपछि खोटाङवासी पुरानै कष्टकर जीवनमा

पूर्णपुष्टि, असोज १५ ।  सुनकोसी नदीमा निर्माण गरिएको २२ करोड ६७ लाख लागतको फोक्सिङटार पुल बाढीले बगाएपछि खोटाङवासीको दैनिक जीवन कष्टकर बनेको छ । २०७८ कात्तिक ९ देखि सञ्चालनमा आएको १२० मिटर लामो उक्त पक्की पुलले खोटाङलाई उदयपुर, सुनसरी, मोरङ लगायत तराईका जिल्लासँग जोडेको थियो ।

पुल निर्माणअघि खोटाङवासीले दैनिक उपभोग्य वस्तुका लागि तीन दिनसम्म हिँडेर उदयपुरको गाईघाट र बेलटार बजार पुग्नुपर्थ्यो । सडक सञ्जालमा नजोडिएकाले जिल्ला पूर्वको ‘कालिकोट’को रूपमा चिनिन्थ्यो । तर पुल बनेपछि धरान, विराटनगर, इटहरी, झापा र धनकुटासम्म सजिलै पुग्न सकिन्थ्यो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थ भट्टराईका अनुसार पुल निर्माणले स्वास्थ्य उपचार, उच्च शिक्षा र व्यापार-व्यवसायमा सहजता ल्याएको थियो । साथै पर्यटक आगमन र निजी लगानी पनि बढ्न थालेको थियो । तर तीन वर्ष नबित्दै पुल बगाएपछि जिल्लावासीको खुसी क्षणभंगुर बनेको उनी बताउँछन् ।

अहिले खोटाङवासी दूधकोसी तरेर ओखलढुंगा, सुनकोसी तरेर उदयपुरको घुर्मी र कटारी हुँदै वा भोजपुर र धनकुटा हुँदै तराई पुग्न बाध्य छन् । नेकपा एमाले खोटाङका उपाध्यक्ष कुमार आचार्यले पुलको डिजाइन परिवर्तन गरी तत्काल पुनर्निर्माण गर्न माग गरेका छन् ।

सांसद रामकुमार राईले सुनकोसीमा निर्माणाधीन अन्य सात पुलमध्ये बंसिलाघाट, धाप्लाङघाट, रानिटार, घोपाटार, कर्लेघाट वा महादेवबेसीमध्ये कुनै एक पुल छिटो सम्पन्न गर्न सरकारसँग आग्रह गरेका छन् । कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले संघीय सरकारसँगको सहकार्यमा तत्काल बेली ब्रिज राखेर गाईघाट-दिक्तेल सडक सञ्चालन गर्ने बताएका छन् ।