Thursday, May 21News That Matters

बाढी पहिरोमा बेपत्ता भएका मानिसको खोजी गर्न खटाईयो तालिम प्राप्त कुकुर

पूर्णपुष्टि, असार १० । अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी बेपत्ता भएका मानिसहरुको खोजी गर्न प्रहरी सहित तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । असार २ गते आएको बर्षाले संखुवासभामा २१ जना मानिस बाढी पहिरोमा परी बेपत्ता भएका छन् ।

बेपत्ता भएका मानिसहरुको उद्धार तथा खोजी कार्यमा खटिएका सुरक्षा कर्मीद्धारा हालसम्म उनिहरुको अवस्था फेला पार्न नसकेकोले तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरी खोजी कार्यलाई तिब्र पारिएको कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको २ वटा तालिम प्राप्त कुकुर सहितको टोलीले बेपत्ता भएका मानिसहरूको तिब्ररुपमा खोजतलास गरिरहेको छ । चैनपुर नगरपालिका–४ स्थित हेवा खोलामा आएको बाढी पहिरोले १७ जना, चैनपुर नगरपालिका–१ स्थित पिलुवा खोलामा १ जना, पाँचखपन नगरपालिका–९ स्थित अपरहेवा खोलामा १ जना र सभापोखरी गाउँपालिका–३ स्थितमा पहिरोले पुरी २ जना बेपत्ता भएका छन ।