
पूर्णपुष्टि, असार १० । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी जवानदेखी हल्दारलाई १६ र असईदेखी सहिलाई १८ बर्षमा अवकाश दिने प्रस्ताव भईसकेको बताएका छन् । आईतबार संसदमा गृह मन्त्रालयको बजेटमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिने क्रममा उनले ३० बर्षे अवधि हटाउने गरी कानुनको मस्यौदा तयार भइसकेको बताए ।
प्रहरी संगठन भित्र बिषेशत प्रहरी जवान, सहायक हल्दार, हल्दार, असई, सहिको प्रोत्साहन र पदोन्नतीको व्यवस्था राम्रो नभएको गृहमन्त्रीले बताए । ९ महिनामा एसपीबाट डिआईजी, एआईजी, आईजी त्यस प्रकारले माथिल्लो स्तरको पदोन्नती हुने भएको छ भने १८–१९ बर्षसम्म एउटै पदमा जवान, हल्दार, असई भईरहेको स्थितिले पिडित अवस्थामा प्रहरी जवान देखी सईसम्मका व्यक्तिहरु रहेको उनले बताए ।
त्यो स्थितिलाई सम्बोधन गर्न क्याडर ल्याडर प्याट्रनलाई राम्रोसँग मिलाउन १६ बर्ष सेवा अवधि पुगेका जवान, सहायक हल्दार र हल्दारसम्मलाई रिटायरमेन्ट दिएर २० वर्षमा पेन्सन लिने तथा १८ बर्ष सेवा अवधि पुगेपछि असई र सहिलाई रिटायरमेन्ट दिएर उनिहरुलाई पनि २० वर्षमा पेन्सन दिने व्यवस्था लागु गर्ने बारेमा गृह मन्त्रालयले सरकारको अन्य सम्बन्धित मन्त्रालयमा प्रस्ताव पठाईसकोको उनले बताए ।
यस बारेमा सम्बन्धिम मन्त्रालयको सहमती प्राप्त भएपछि प्रकृयालाई कार्यान्वयनको विन्दुमा पुर्याउन सकिने उनले बताए । यहि समस्यालाई सम्बोधन गर्न आन्तरीक बढुवा र बाहिरबाट खुल्ला प्रतिस्पर्धामा लिईनेहरुको अनुपात परिवर्तन गुर्नपर्ने सुझावमा लोकसेवा आयोगसँग परामर्श लिईरहेको उनले बताए ।
