
पूर्णपुष्टि, जेठ ३० । उदयपुरमा आयोजित वाहिनिपति रनिङ शिल्डको उपाधि श्री रणभिम गण खोटाङले जितेको छ । जिल्लाको त्रियुगा नगरपालिका–१३ स्थित थारुहट रंगशालामा विभिन्न विधामा भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै रणभिम गण खोटाङले रनिङ शिल्डको उपाधि हात पारेको हो ।
रणभिम गण खोटाङले रनिङ शिल्डमा २० वटा स्वर्ण, ६ वटा रजत र २ वटा कास्य गरी २८ वटा पदक जित्दै शिल्ड उठाउन सफल भएको हो । रणभिम गण खोटाङले ८ विधामध्ये ४ विधाको उपाधि जितेको छ । रणभिम गण खोटाङले भलिवल, बास्केटबल, स्विमिङ र ऐथ्लेटिक्सको उपाधि जितेको छ ।
त्यस्तै आज भएको बाहिनिपति ट्रफी फुटबल प्रतियोगिताको फाईनल खेलमा श्री दुर्गा बक्स गण ओखलढुङ्गाले श्री पशुपति प्रसाद गण बोक्सेलाई ४–१ गोलले पराजित गर्दै उपाधि जितेको छ । खेलको ७५ औं मिनेटमा श्री पशुपति गण बोक्सेका जर्सि नं. १ का गोल रक्षक राजहाङ राईले आत्मघाती गोल गरेका थिए ।
तर, खेलको ८९ औं मिनेटमा पशुपति गण बोक्सेका जर्सि नं ८ का धिरज अधिकारी दनुवारले गोल गर्दै पनरागमन गरे भने खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेल बराबरीमा सकिएपछि २० मिनेट समय थप गरिएको थियो । थप समयको पहिलो मिनेटमा दुर्गा गणका जिर्सि नं. ८ का देवराज चौधरीले सेन्टरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो भने, ११७ औं मिनेटमा जर्सि नं. १३ का शान्ति नेपाली र १२२ औं मिनेटमा रोसन वि.क.ले गोल गर्दै दुर्गा गणलाई उपाधि पक्का गरेको हो ।
बाहिनिपति ट्रफी फुटबल प्रतियोगिताको उपविजेता पशुपति प्रसाद गण बोक्से रनिङ शिल्डमा पनि दोस्रो भएको छ । पशुपति प्रसाद गण बोक्सेले १० वटा स्वर्ण, १२ वटा रजत र २ कास्य सहित २४ वटा पदक जित्दै दोस्रो भएको छ भने दुर्गा गण ओखलढुङ्गाले १० वटा स्वर्ण, ६ वटा रजन र ४ वटा कास्य गरी २० वटा पदक जित्दै तेस्रो भएको छ । पशुपति प्रसाद गण बोक्से र दुर्गाबक्स गण ओखलढुङ्गाले समान २–२ विधाका उपाधि जितेका छन् । पशुपति प्रसाद गण बोक्सेले तेक्वान्दो र बक्सिङको उपाधि जितेको छ भने दुर्गाबक्स गण ओखलढुङ्गाले सुटिङ र फुटबलको उपाधि जितेको छ ।


