
पूर्णपुष्टि, भदौ २४
नेपाल पर्यटन बोर्डको समन्वयमा बुद्ध पर्यटन प्रवर्द्धन समिति गठन भएको छ । लुम्बिनी तथा बुद्ध र बुद्ध धर्मसँग सम्बन्धित धार्मिक, पुरातात्विक, ऐतिहासिक सम्पदाहरुको प्रवर्द्धन, तथा प्रचार प्रसार गर्ने उद्देश्यले समिति गठन भएको हो ।
पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीको संयोजकत्वमा समिति गठन भएको हो । पर्यटन व्यवसायी विक्रम पाण्डे सहसंयोजक रहेको समितिमा अम्बिका श्रेष्ठ, कर्ण शाक्य, बुद्ध धर्म संस्कृतिका अध्यता प्रा.डा. रमेश ढुङ्गेलदेखि रोमन म्यागसेसे पुरस्कार विजेता अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त आँखा विशेषज्ञ डा. सन्दुक रुइतसम्मका व्यक्तित्वहरु सदस्यको रुपमा रहनुभएको छ ।
बुद्धसँग सम्बन्धित अन्य स्थलहरु तिलौराकोट, रामग्राम, देवदह, कुदान, गोटिहवा, निग्लिहवा, सगरहवाको प्रवर्द्धन, ब्राण्डिङ, सौन्दर्यीकरण, प्याकेजिङ, अन्य वरिपरिका पर्यटकीय स्थलहरुसँग जोड्ने कार्य, अन्तर्राष्ट्रिय बजारमा प्रचार प्रसारको मोडालिटी तय गर्ने लगायतको विषयमा अध्ययन, विचार र विमर्श गरी समितिले कार्ययोजना बनाउने छ ।
साथै पद्मसम्भव मार्ग, बृहत् लुम्बिनी क्षेत्र, लुम्बिनी सर्किट, बुद्धिस्ट सर्किटलगायतका महत्त्वपूर्ण पथ, परिपथहरुको व्यापक प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ ।
भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको अवस्थामा एक अर्बभन्दा बढी सङ्ख्यामा रहेका बौद्धमार्गी तथा शान्तिप्रिय पर्यटकहरुलाई विभिन्न देशबाट नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलका साथै स्थलमार्गबाट लुम्बिनी ल्याउन पहल गर्ने कार्यको समेत समितिले योजना बनाउने छ ।
लुम्बिनी क्षेत्रमा प्रवेशसँगै शान्ति, धार्मिक भावना तथा पवित्रताको अनुभुति हुने प्रकारको विकास एवं सौन्दर्यीकरण गर्नका लागि सम्बन्धित निकायहरुलाई आवश्यक सुझाव दिने लक्ष्य यो समितिले लिएको छ ।
लुम्बिनी क्षेत्रका स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार हुने तथा आय आर्जनको थप स्रोत प्राप्त हुने अपेक्षा गरिएको छ । घरवास जस्ता कार्यक्रममार्फत रोजगारी सिर्जना हुने अवस्था देखिन्छ । तसर्थ, समितिले लुम्बिनी क्षेत्र तथा समस्त बुद्ध धर्म, संस्कृति तथा दर्शनको विकास एवं प्रवर्द्धनको समेत कार्य गर्ने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

