Wednesday, June 17News That Matters

बुहारीको हत्या गरी हराएको भन्दै निवेदन दिने सासु–ससुरा पक्राउ

पूर्णपुष्टि, जेष्ठ २८ । कैलालीमा बुहारीको हत्या गरी हराएको भन्दै प्रहरीमा निदेवन दिने सासु–ससुरा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–२ का ५२ वर्षीय डिल्लीसिंह बुढा, उनकी श्रीमती ५० वर्षीया लहरी बुढा र ज्वाईं नाता पर्ने भजनी नगरपालिका–४ का ४१ वर्षीय जयबिर बुढा रहेका छन् ।

कविता बुढाको शव गौरीगंगा नगरपालिका–१ को केदारेश्वर सामुदायिक वनमा खाल्डो खनेर पुरेको अवस्थामा भेटिएपछि प्रारम्भिक अनुसन्धानको क्रममा ससुरा डिल्लीसिंह र सासु लहरीले घरायसी विवादमा बुहारी कविताको हत्या गरी खाल्डोमा पुरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिए । उनका अनुसार नाता पर्ने ज्वाई जयबिरलाई उनिहरुलाईको सहयोग गरेको अभियोगमा पक्राउ गरिएको हो ।

गत १८ जेठमा पारिवारीक विवादका क्रममा ससुराले भान्सा कोठामा रोटी पकाइरहेकी बुहारीलाई चिरपटले हानेर हत्या गरेको देखिएको प्रहरी निरीक्षक साउँदले जानकारी दिए । बुहारीको हत्या गरेपछि डिल्लीले श्रीमतीको सहयोगमा शव डोकोमा हालेर घरभन्दा करीब ३ किलोमिटर टाढा सामुदायिक वनमा पुर्याएर ८ फिट गहिरो खाल्डो खनेर गाडेको आरोप छ ।

शव गाडिसकेपछि बुहारी हराएको भन्दै प्रहरीमा निवेदनपछि उनीहरु फरार भएको प्रहरीको भनाइ छ । फरार रहेका उनिहरु २२ जेठसम्म कञ्चनपुरको बिचफाँटास्थित आफन्तको घरमा बसेका थिए । भने शनिबार घर ठेगानाबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । मृतक कविताको दुई जना छोरा–छोरी छन् भने उनको श्रीमान विगत एक वर्षदेखि दोस्रो विवाह गरेर भारतमा रहेको छ ।