
पूर्णपुष्टि, मंसिर १३ ।
उदयपुरको वेलका नगरपालिका स्थित सिसुवा खोला र गिदेरी खोलामा नगरपालिकाले ठेक्का लगाएको गिटि, ढुंगा, बालुवाको शुक्रबार जिल्ला स्थित निकायहरुले संयुक्तरुपमा स्थलगत अनुगमन गरिएको छ ।
जिल्ला समन्वय समिति उदयपुरको नेतृत्वमा स्थानीयको मागहरुलाई सम्बोधन गर्दै सुरक्षा सहितको टोलीले मापदण्ड अनुरुपको स्थलगत अनुगमन गरेको थियो । बन डिविजन कार्यलयको प्राविधिक टोली सहित (आइइइ) को माध्यमबाट वातावरणीय प्रभाव मूल्याङकनको आधारमा प्रतिवेदन स्वीकृतसहित अनुगमन गरिएको जिल्ला समन्वय समितिका प्रमुख तथा अनुगमन समितिका अध्यक्ष खड्ग परियारले बताए ।
अनुगमन पश्चात परियारले विस्तृत रुपमा यसको छलफल गरी समधानमा ल्याउने बताए । सम्बन्धित सबै पक्षसहितको बैठको प्रतिवेदनले यसको समधान गर्ने परियारले बताए ।
बेलका नगरपालिका वडा नं ५ खयारबारीको गिदेरी खोला र वडा नं ४ र ६ को सिमामा रहेको सिसुवा खोला आसपासका स्थानीयहरुले नगरपालिकाले लगाएको ठेक्कामा आफुहरुलाई चित्त नबुझेको भन्दै जिल्ला समन्वय समितिसँग निष्पक्ष स्थलगत अनुगमनको माग राखेका थिए । स्थानीयहरुले कुनै पनि सल्लाह विनानै ठेक्का लगाई निकासी सुरु गरेको र यसले गाउँवस्तीमा जोखिम मोल्ने भन्दै उत्खननमा रोक स्थानीयले लगाएपछि विवाद उत्पन्न भएको थियो ।
यस्तै गरी कतिपय स्थानीयहरुको भने नम्वरी जग्गामै खोला छिरेको र त्यस्लाई व्यवस्थापन गर्नु पर्ने नगरपालिकासँग माग गरेका छन् । यता सिसुवाखोला आसपासका स्थानीयहरुले भने ढुङगा गिटी उत्खनन गर्न नदिने भन्दै विरोध गरेका थिए । स्थानीयहरुले नगरपालिका सँग असन्तुष्ट पोखेको छ ।
यता बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाले स्थानीयको छलफल अनुरुप नै टेन्डर आह्वान गरी ठेक्का सुरु गरिएको बताए । थापाले सबैको सर्वदलीय छलफलमा विज्ञापनहरु समेत प्रकाशित गरी ठेक्का लगाएको बताए ।
सबै जनताहरुको विकासका निम्ति स्थानीय स्रोतको रुपमा लगाइएको ठेक्कामा स्थानीयहरुको विरोध रहेको थापाले बताए । थापाले सँधै गाडी साहुहरुले मात्र उत्खनन गरेको प्राकृतिक स्रोतलाई आम जनताहरुको स्रोतको रुपमा लगाएको ठेक्कामा स्थानीयहरुको विरोध रहेको बताए ।
उनले यो स्रोत व्यक्तिगत स्रोत नभई विषेश त्यँहीका जनताहरुको विकासका लागि हुने र हिजो ३ सय जनाले ढुङगा गिटीबाट बनाएको स्रोत नगरपालिकाले ठेक्का लगाउँदा आम जनताहरुको हुने स्थानीयहरुलाई सुझाए ।
उनले यो भन्दा पहिले जिल्ला समन्वय समितिले ठेक्का लगाएको बताउँदै सँधै लाग्दै आएको ठेक्कामा स्थानीयहरुले विरोध गरेको बताए ।
अनुगमनमा प्रदेश सांसद विमल काकी र अम्वीका थापा पनि रहेका थिए । साथै जिल्ला समन्वय समितिकी उपप्रमुख गंगा राई, प्रहरी प्रमुख बीर बहादुर बुढा मगर, शसस्त्र प्रहरी वल उदयपुरका प्रमुख गाहार्धन राई, बन डिभिजन कार्यलय र सुरक्षा सहितको टोलीले स्थलगत अनुगमन गरेका थिए ।
