महिला मानब अधिकारकर्मीको योगदानको स्मरण गरियो

पूर्णपुष्टि, मंसिर  १३ 

उदयपुरका महिला मानवअधिकारकर्मीहरुले महिला अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको स्मरण गरिएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिवसीय अभियानको क्रममा शुक्रबार महिला अधिकारकर्मीहरुले आफ्नो  क्षेत्रबाट समुदायलाई गरिएको योगदानको स्मरण गरेका हुन् । महिला अधिकारकर्मीहरुको विगत र वर्तमान तथा अवसर र चुनौतीको बारेमा अन्तरक्रिया भएको थियो ।

महिला मानवअधिकार रक्षक सञ्जाल उदयपुुरले गाईघाटमा गरेको महिला मानव अधिकारकर्मीको विगत र वर्तमानको भूमिकाबारे अन्तरक्रियामा विगतको स्मरण गरिएको थियो भने वर्तमान र भविष्यका लागि अझ संगठित र एकता हुदै अगाडी बढ्ने प्रण गरिएको छ ।

महिला मानवअधिकारकर्मीहरुले विगतमा ज्यानसम्म जोखिममा राखेर कष्टपूर्ण र जोखिमपूर्ण कदम चाल्दै अधिकारको क्षेत्रमा लडेको अनुभव र अनुभूती राखेका थिए । द्वन्द्वकालमा राज्यपक्षको धम्की, कडा निगरानी र माओवादीको नियन्त्रणमा परेको, मृत्युको मुखसम्म पुगेको तिता अनुभूती सुनाए । कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रिय सल्लाहकार सिर्जना दनुवार, केन्द्रिय सदस्य महेश्वरी राई लगायतले विगतलाई स्मरण गर्दै अवको भूमिका पनि प्रभावकारी र सशक्त हुनुपर्ने बताए ।

राज्यपक्ष र तत्कालिन नेकपा माओवादीबीचको चरमद्वन्द्व, जनयुद्ध, जनआन्दोलन जस्ता जटिल र कठिन परिस्थितिमा पनि सशक्तढंगले लागेको उनीहरुले बताए । त्यसैको फलस्वरुप अहिले अधिकारको क्षेत्रमा बोल्न, काम गर्न सहज अवस्था आएको भन्दै संविधानमा समेत अधिकारको कुरा सुनिश्चित भएको बताए ।

उनीहरुले महिलाहरुको मुद्दा हेर्ने सन्दर्भमा सबैभन्दा बढि धम्की, दवाव र विभिन्न आरोपहरु खेप्नु परेको सुनाएका थिए । कतिपय अवस्थामा केही अधिकारकर्मीको आप्mनै कमीकमजोरीका कारण आरोप र लान्छना पनि खेप्नु परेको भन्दै अवका दिनमा सबै सच्चिनुपर्ने र त्यस्ता कमीकमजोरी हुन दिन नहुने बताए ।

मानवअधिकार सञ्जाल उदयपुरका संयोजक भरत खड्का, नेकपा जिल्ला सदस्य राधा खड्का, आभाश राष्टिय अभियानका संयोजक नजबुल खान (निलम), ओरेक नेपाल, उदयपुरकी संयोजक सुनिता मैनाली, महिला अधिकारकर्मी ममता ठकुरी, सिर्जना पौडेल लगायतले महिला मानव अधिकारको विगत र वर्तमानको बारेमा बोलेका थिए ।

सञ्जालकी अध्यक्ष माया भण्डारीले अवका दिनमा सबै महिला अधिकारकर्मीहरु एकजुट हुदै अगाडी बढ्न आव्हान गर्दै १६ दिवसीय अभियानको क्रममा अधिकारकर्मीहरुले पनि आफ्नो कामको समिक्षा गर्ने उद्देश्यले अन्तरक्रिया राखिएको बताउनुभयो । कार्यक्रमको सहजिकरण पत्रकार महिला अप्सरा समाल मगरले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: