Saturday, June 27News That Matters

बेलकाद्धारा सप्तकोसीले कटान गरेको स्थानमा तटबन्धन सुरु गर्यो

पूर्णपुष्टि, भदौ १ गते ।
उदयपुरको बेलका नगरपालिकाले सप्तकोसी नदीले कटान गरेको स्थानमा तटबन्ध सुरु गरेको छ । कटान भएको झण्डै १ किलोमिटर क्षेत्रमा तटबन्धन सुरु गरिएको हो ।
नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार केही दिनअघि मात्र बाढीले नगरको वडा नं २ ,३ र ८ का डुम्रीबोटसहितका क्षेत्रमा नदी कटानले गाउँघर असुरक्षित भएकाले नगरपालिकाले तटबन्धन निर्माण सुरु गरेको हो ।
सो निर्माणका लागि प्राविधिकहरुको सल्लाहअनुसार ढुङ्गा सङ्कलन र तारजाली जस्ता सामग्री जुटाउने र उपलब्ध गराउने काम भइरहेको नगरपालिकाले बताएको छ । विगतमा बोरामा बालुवा बाँधेर निर्माण गरेको तटबन्ध नदीले भत्काएकाले अब ढुङ्गाको पर्खाल र तारजाली लगाउन सुरु गरिएको नगरपालिकाकी उपप्रमुख जिरा राईले बताए ।
तत्काल फेरि पनि विपत्ति आउन सक्ने हुनाले नगरपालिकाको अन्य विकासको बजेट कटौती गरेर झन्डै तीन करोडभन्दा बढी रकम नगरको वडा नं १ ३ र ८ को नदी कटान नियन्त्रणमा लगाउने जनाइएको छ । यसका लागि सङ्घीय सरकार जलस्रोत मन्त्रालय र प्रदेश सरकारसँग सहयोगे माग गरिएको बेलकाका प्रमुख अशोक कार्कीले बताए ।
स्थायी तटबन्धन पहल गरेपनि यो कार्य केही वर्ष ढिला हुन सक्ने हुनाले तत्काल नै केही वडामा कोसी कटानको उच्च जोखिमबाट बचाउन नगरपालिकाको पहल र सक्रियतामा नै तटबन्धन बनाउन लागिएको बताइएको छ । केही दिनअघि बेलकाको कोसी क्षेत्र आसपासमा बाढी आउँदा झन्डै २ हजार ५ सय भन्दा बढी जनता अस्थायीरुपमा विस्थापित भएका छन् ।
अहिले पनि नदी कटानबाट विस्थापितमध्ये झन्डै ५सयलाई नगरपालिकाले अस्थायी शिविरमा राखेर राहत प्रदान गरिरहेको छ । नगरपालिकाको सिसौलिया, डुम्रीबोट, सातपत्रेलगायत श्रीलङ्का टापु र एबीसी टापुमा सप्तकोसीको बाढी प्रवेश गर्दा सो क्षेत्रका गाउँघर धेरै जोखिममा परेका छन् । त्यहाँका स्थानीय विस्थापित भएपछि अहिले पनि फर्केर गाउँघर प्रवेश गर्न नसकेको बेलका नगरपालिकाले जनाएको छ ।