
पूर्णपुष्टि, भदौ १ गते ।
सरकारले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला उन्पादन, आयात, बिक्रिवितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ । वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई आजबाट कडाइका साथ लागु गर्ने भएको हो ।
यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागु हुनेगरी उक्त नियम बनाएको थियो । तर, त्यही महिना जनधनको ठूलो क्षति पुर्याउने गरी गएको भूकम्पको कारण कार्यान्वयन हुन सकेको थिएन । मन्त्रालयले पहिलो चरणमा झोला उत्पादन गर्ने कम्पनी अनुगमन गर्ने छ । त्यसपछि धेरै प्रयोग हुने क्षेत्रहरूमा सघन अनुगमन गर्ने र अनुगमनको क्रममा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला बिक्री र प्रयोग गरेको भेटिए प्रहरी परिचालन गरी तत्काल कारबाही गर्ने जनाइएको छ ।
गत वर्ष साउन २८ मा सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रतिबन्ध लगाउन अन्तरिम आदेश दिए लगत्तै मन्त्रालयले सो सम्बन्धी निर्णय गरी कार्यविधि तयार गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्न सरकारले ४० माइक्रोनभन्दा पातलो झोलामा आजबाट प्रतिबन्ध लगाएको हो ।
विभागले प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८ स्वीकृत भई कार्यान्वयनमा आईसकेको भन्दै कोभिड–१९ को प्रकोपका कारण केही समय अनुगमनमा खुकुलो गरिएको र भदौ १ देखि अनुगमन तीब्र बनाइने जनाएको छ । ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको प्रयोग, उत्पादन तथा बिक्री गरेको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने पनि विभागले चेतावनी दिएको छ ।

