
पूर्णपुष्टि, वैशाख २६ ।
नेपाली सीमानाकामा खटिएका सुरक्षाकर्मीले आवतजावतमा रोकेपछि भारतीयले सुरक्षाकर्मीलाई नै कुटपिट गरेका छन् । वीरगन्जको अलौंस्थित सीमानाकामा सशस्त्र प्रहरीलाई भारतीयले कुटपिट गरेका हुन् । सीमापारि गाउँ हरैयाबाट आएका २०–२५ जना भारतीयले अलौंको सिवानटोल नाकामा खटिएका सशस्त्र प्रहरी जवान बालप्रसाद भारतलाई कुटपिट गरेका हुन् । जवानले आवत जावतमा रोक लगाए पछि कुटपिट गरेका हुन् ।
कुटपिट गर्न थालेपछि उनीसंगै डयुटीमा रहेका अर्का सशस्त्र प्रहरी जवानले हवाइ फायर गरेका थिए । हवाइफायर गरिएपछि भने भारतीयहरु भागेका थिए । भारतीयले लछारपछार गर्दै सशस्त्र प्रहरी जवानको पोशाक समेत च्यातिदिएका छन् ।
भारतको हरैया गाउँ तिरबाट नेपाल प्रवेश गर्न खोज्नेलाई सशस्त्र प्रहरीले रोकेपछि उनीहरु आक्रमणमा उत्र्रेका थिए । घटनापछि सीमाक्षेत्रमा सुरक्षा सतकर्ता बढाइएको छ । सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवँरको नेतृत्वमा टोलीले सीमा क्षेत्रको अवलोकनसमेत गरेको छ ।
भारतीय सीमा सुरक्षा बलसँग पनि घटनाबारे प्रहरीले जानकारी लिएको छ । पछिल्लो समय भने अलौको अवस्था सामान्य रहेको बताइएको छ ।
