
पूर्णपुष्टि, फागुन २७
भारतमा हुन लागिरहेको यू–१८ महिला साफ च्याम्पियनसिपको उपाधि जित्ने दावीका साथ नेपाली महिला टिम शनिवार भारत प्रस्थान गर्दैछ । यू–१८ महिला टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलमा सहभागी जनाउन र जितको अग्रिम शुभकामना सहित विदाई गरेको छ ।
टिमका कप्तान प्रिती राईले विदाईको क्रममा उपाधी जितेर नेपाल फर्किने जनाईन् । तीन टोली सम्मिलित प्रतियोगितामा नेपालको लक्ष्य उपाधि उचाल्ने रहेको जनाउँदै उनिले उपाधी जित्ने गरी खेल्ने जनाईन् ।

लगातार दुई संस्करणको उपाधि विजेता बंगलादेश र पछिल्लो संस्करणको उपविजेता आयोजक भारतसँग खेल्ने नेपाली टिमले करिब एक महिनाको प्रशिक्षण अनुभव लिएर प्रतियोगितामा सहभागिता जनाउँदै छ । नजिकिँदै गरेको महिला लिगका लागि तयारी गरिहेकाले खेलाडीको फिटनेस राम्रो भएको र विपक्षी टिम भए पनि राम्रो खेलेर उपाधि लिएर आउने कप्तान राईले विश्वास व्यक्त गरिन् ।

महिला टिमलाई अनुभव दिलाउने लक्ष्यसहित प्रतियोगितामा सहभागिता जनाउन लागेको भन्दै महिला विभाग प्रमुख हरि खड्काले बलिया टोलीसँग राम्रो फुटबल खेलेर स्वदेश फर्किने बताए । तेस्रो संस्करणको प्रतियोगिताका लागि आयोजक भारतसहित नेपाल र बंगलादेशले भारतको जम्शेदपुरमा मार्च १५ देखि २५ सम्म प्रतिस्पर्धा गर्दैछन् ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्नेछ। नेपाल र भारतबीचको खेल मार्च १५ मा हुनेछ भने दोस्रो खेलमा नेपालले मार्च १७ मा बंगलादेशको सामना गर्नेछ। यस्तै मार्च २१ मा फेरि भारतसँग खेल्दा मार्च २३ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ। सन २०१८ मा भुटानमा भएको पहिलो प्रतियोगिताको सेमिफाइनलमा भारतलाई हराएको नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएपछि उपाधिबाट बन्चित भएको थियो।

