Tuesday, April 21News That Matters

भिजिट भिसा प्रकरणमा गृहमन्त्री निर्दोष – कांग्रेस

पूर्णपुष्टि, बैशाख १२  । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको औपचारिक निष्कर्ष निकालेको छ । आज बिहान बसेको पदाधिकारी बैठकले मन्त्री लेखक यस अनियमिततामा कुनै पनि हिसाबले संलग्न नभएको ठहर गरेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको स्पष्ट अवस्थान राखे । उनले भने, “जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।”

प्रवक्ता महतले गृहमन्त्री लेखकलाई जबरजस्ती यस प्रकरणमा जोडेर अफवाह फैलाइएको आरोप लगाए । उनले यस्ता अफवाहहरूले मन्त्रीको छविमा आँच पुर्याउने प्रयास भएको बताए । हालै सार्वजनिक भएको भिजिट भिसा प्रकरणमा केही अधिकारीहरूको संलग्नता रहेको आरोप लागेको थियो । यस प्रकरणमा गृहमन्त्री लेखकको नाम पनि चर्चामा आएको थियो ।

कांग्रेसले भिजिट भिसा अनियमिततामा वास्तवमा संलग्न व्यक्तिहरूमाथि कारबाही गर्न माग गरेको छ । प्रवक्ता महतले भने, “जो वास्तवमा संलग्न छन्, तिनलाई कानुनी कारबाही हुनुपर्छ ।”