Wednesday, May 13News That Matters

भुल्केमा फेरी थपियो १ संक्रमित, अव, भुल्केमै मात्र संक्रमितको संख्या ३२ पुग्यो

पूर्णपुष्टि, वैशाख २७ ।

उदयपुरको भुल्केमा आज बेलुका १ जना कोरोना संक्रमित थपिएको छ । थपिएको संक्रमित पनि महिला हुन् । विहान भुल्केका ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज भुल्केमा कोरोना संक्रमित हुनेको संख्या ४ पुगेको छ । चारैजना मुस्लिम समुदायका हुन् । भुल्केमा पुनः परिक्षण गर्दा उनीहरु संक्रमित देखिएका हुन् । गएको २४ गते भुल्केमा मुस्लिम समुदायका २ सय ३८ जनाको स्वाव नमुना पुन परिक्षणका लागि संकलन गरिएको थियो । सोही बेला अन्य ९६ जना स्थानीयको पनि स्वाव नमुना संकलन गरिएको थियो । अन्य स्थानीय सबैको स्वावको रिपोर्ट नेगेटिभ आएको छ ।

योसंगै अव भुल्केमा संक्रमितको संख्या ३२ पुगेको छ भने प्रदेश १ मा ३५ पुगेको छ । देशभरमा भने ११० पुगेको छ ।

विहान पुष्टि भएका ३ संक्रमित महिलाहरुलाई उपचारका लागि विराटनगरस्थित कोशी कोरोना हस्पिटल लगिएको छ भने पछिल्लो एकजनालाई भोली लैजाने जनाइएको छ ।

२८ जना कोरोना संक्रमित भेटिएको भुल्केमा वैशाख ५ गतेदेखि लक गरिएकोमा क्रमशः खुकुलो पार्दै जाने प्रक्रिया अनुरुप पहिलोपटक पुनः परिक्षण गरिएको थियो । पुनः परिक्षणको रिपोर्टले सबैमा नेगेटिभ देखाएको खण्ड्मा लकलाई खुकुलो पार्ने भनिएकोमा संक्रमित थपिएपछि लक यथावत रहेको प्रशासनले जनाएको छ ।

आज पनि जनस्वास्थ्य कार्यालयले भुल्केका १ सय ४३ जना स्थानीयको स्वाव नमुना संकलन गरेको जनाएको छ ।