
पूर्णपुष्टि, मंसिर २०
कैलालीको लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्यामा २१ जनाको संलग्नता रहेको छ । हत्या अभियोगमा प्रहरीले १२ जनालाई पक्राउ गरेको र ९ जना अझै फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले आज पत्रकार सम्मेलन मार्फत भूपेन्द्रको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका १२ जनालाई सार्वजनिक गरेको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार सार्वजनिक गरिएका अभियुक्तहरुमा लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दिपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्कीचुहा–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान्त मल्ल छन् ।
यस्तै, लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्का, टीकापुर नगरपालिका–१ का २३ वर्षीय प्रविण रिमाल, बर्दियाको राजापुर नगरपालिका–७ घर भएर टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले, टीकपुरकै २५ वर्षीय सोहन शाह, बर्दगोरिया गाउँपालिका–२ बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगपालिका–३ बस्ने २६ वर्षीय सन्तोश भन्ने सविनजँग शाहीलाई पनि सार्वजनिक गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए । बडुवालको हत्यामा संलग्न भएका र हत्या गर्न सघाउने अन्य ९ जना अझै फरार छन् ।
प्रहरी उपरीक्षक अधिकारीका अनुसार लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २७ वर्षीय नवीन रावल, २६ वर्षीय अनुज भन्ने चिरनजीवीजंग शाही, २६ वर्षकै हिमाल शाही, जानकी गाउँपालिका–६ बस्ने वर्ष २८ वर्षीय जयन्द्र शाह, टीकापुर नगरपालिका–१ बस्ने २७ वर्षीय विकास शेरचन, लम्कीचुहा–४ बस्ने २४ वर्षीय रोशनबहादुर शाही, टीकापुर नगरपालिका–६ बस्ने अन्दाजी ३५ वर्षीय अशोक रावल, लम्कीचुहा नगरपालिका–३ बस्ने २५ वर्षीय लोकजंग शाही र बर्दियाको गरुवा गाउँपालिकाका २२ वर्षीय हेमन्त शाही फरार छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।
उनीहरु मध्ये रावलसहितका केही युवाको हत्यामा संलग्न रहेको र केहीले घटनामा सघाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
जयन्द्र शाह र नवीन रावलको समूहमा आपसी मनमुटाव भएर झगडा हुन थालेपछि हत्या प्रकरणसम्म पुगेको देखिएको छ । सोही कारण योजनाबद्ध रुपमा गत कात्तिक २३ गते धारिलो हतियार प्रहार गरेर बडुवालको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
