
पूर्णपुष्टि, चैत्र २९ । महोत्तरीमा मजदुरमाथि अमानविय व्यवहार गरेको आरोपमा एक निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लोहारपट्टी नगरपालिका–६ का निर्माण व्यवसायी ३५ वर्षीय कृष्ण मिश्र रहेका छन् ।
श्रेष्ठमाथि स्थानिय २१ बर्षीय मोबारक नदाफलाई दुर्वयवहार गरेको आरोप छ । नदाफले काम गरेबापतको ज्याला माग्दा श्रेष्ठले कुटपिटसहित अमानवीय व्यवहार गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनका अनुसार यही चैत २३ गते बिहान नदाफलाई ज्यालाका लागि बोलाएर मिश्रले कुटपिट गर्दै चोकको विद्युत पोलमा बाधी मोसो दलेर केस मुण्डन गरिदिएका थिए ।
प्रहरीले मिश्रलाई घटनाको भोलिपल्ट पक्राउ गरेको छ । उनीमाथि अमानवीय अपमानजनक व्यवहार कसुरमा मुद्दा चलाएको डिएसपी गिरीले बताए । अमानवीय अपमानजनक व्यवहार कसुरमा पाँच वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ ।
मुस्लिम धर्माम्बलम्बीको अहिले रमजान (रोजा) चलिरहेको बेला रमाजान मनाउन नदाफले काम गरेवापतको ज्याला पटक–पटक माग गर्दा पनि नदिएपछि उनले काम गर्दैगर्दाको औजार लगेको पिडित परिवारले जनाएको छ । उनले औजार लगेपछि निर्माण व्यवसायी मिश्रले औजार लिएर आउनु पैसा दिन्छु भनि शिव आश्रममा बोलाएर चोरीको आरोप लगाउँदै चोकमा लगेर अमानवीय व्यवहार गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । पीडितले मिश्र विरूद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् ।
