Saturday, June 20News That Matters

मदिरा सेवन गरेर सवारी चलाउदा मजदुरको मृत्यु, सांसदका छोराविरूद्ध सवारी ज्यान मुद्दा दर्ता

पूर्णपुष्टि, जेष्ठ २५

मदिरा सेवन गरेर सवारी चलाउदा विराटनगरमा गत बिहिबार एक मजदुरको ज्यान गएकोे थियो । सवारी दुर्घटनामा आरोपी सांसदका छोरा रविन कार्कीविरुद्ध सवारी ज्यान मुद्दामा प्रहरीले ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ ।  प्रहरीले सोमबार जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको हो ।

प्रहरीले ७ दिने म्याद थपको माग गरे पनि अदालतले ५ दिनको अनुमति मात्र दिएको छ ।

जेठ २० गते बिहीबार राति साढे ७ बजे कार्कीले चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले दुईजना मजदुरलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट ३५ वर्षीय भारतीय नागरीक मुकेश शर्माको ज्यान गएको थियो भने मोरङकोे कटहरी गाउँपालिका–२ का २७ वर्षीय राजकुमार राजवंशी गम्भिर घाइते भएका थिए । राजवंशीको स्वास्थ्य अवस्थामा नाजुक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा रबिनले विराटनगर–५ स्थित होटल एडमायरमा मदिरा सेवन गरेर कार चलाएकोले दुर्घटना भएको खुलेको छ । रबिन प्रदेश नम्बर १ का सांसद बिन्दिया कार्कीका छोरा हुन् ।

रबिनसँग सवारी चालक अनुमति पत्र नभएको दाबी गरिएको छ । लाइसेन्सविना नै सवारी चलाएर दुर्घटनामा परी कुनै व्यक्तिको मृत्यु भए, सवारी चालक र सवारी धनीमाथि ‘सवारी ज्यान मुद्दा’ दर्ता हुने कानुनी व्यवस्था रहेको छ ।

लाइसेन्स नहुने व्यक्तिको हकमा सो मुद्दाको १६१ को दफा २ र दफा ४ आकर्षिक हुने कानुनमा उल्लेख छ ।

उक्त कसुर पुष्टि भएको खण्डमा सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार ३ देखि १० वर्षसम्मको कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्मको जरिवाना हुन्छ । सवारी चालक अनुमति पत्र नभएको हकमा पनि थप सजायको व्यवस्था छ ।