
पूर्णपुष्टि, जेठ २४ । मधेश प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले आव्हान गरेको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त्त भएपछि संविधानको १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न आव्हान गरेकी हुन् ।
प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको लागी दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छन् । बुधबार संविधान २०७२ को धारा १८८ को उपधार २ बमोजिम विश्वासको मत लिएका मुख्यमन्त्री यादवले ५० मत पाए भने विपक्षमा ५३ मत पर्यो । २७ पुस २०७९ मा नेकपा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी लगायतको दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
मधेश प्रदेशमा एमाले, जनमत पार्टी र माओवादी केन्द्रले यसअघि नै जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरिसकेका छन् । एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी समेतको समर्थनमा जनमत संसदीय दलका नेता महेश प्रसाद यादवलाई मुख्यमन्त्रीको दाबी पेश गर्ने दलहरुको तयारी छ ।
