Monday, May 4News That Matters

मलेशियादेखि नेपाल आएको एयरलाइन्सको विमान भैरहवामा अवतरण

पूर्णपुष्टि, जेष्ठ ३० । मलेसियादेखि नेपाल आएको नेपाल वायुसेवा निगमको जहाज भैरहवा अवतरण गरेको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि मंगलबार राष्ट्रिय ध्वजावाहक विमान पहिलो पटक अवतरण गरेको हो ।

१ सय ५८ सिट क्षमताको निगमको नाइन एन एकेएक्स कल साइन भएको न्यारोबडी जहाज मंगलबार बिहान पौने ९ बजे भैरहवा अवतरण गरेको हो । साढे ७ बजे अवतरण हुने भनिएको जहाज झण्डै डेढ घण्टा ढिलो अवतरण भएको हो । विमानमा ९७ जना यात्रु मलेशियाबाट आएकामा ३१ जना भैरहवामा उत्रिएका थिए । बाँकी काठमाडौंमा झरे ।

भैरहवामा निगमको पहिलो व्यवसायिक अन्तराष्ट्रिय उडान भएकोले यात्रुहरुलाई स्वागत गर्न पर्यटनमन्त्री सुदन किराती विमानस्थल पुगेका थिए । भैरहवामा यात्रुलाई ओरालेपछि विमान काठमाडौंमा अवतरणका लागि उडने छ ।

भैरहवा आएका मलेशियाका पर्यटन व्यवसायीहरू भने लुम्बिनी भ्रमण गरी काठमाडौं हुँदै मलेशिया फर्किने बताइएको छ । निगमले जेठ पहिलो साता मलेशिया–भैरहवा उडानको घोषणा गर्दै सुरूमा प्रवर्द्धनात्मक हवाई भाडा ११ हजार रूपैयाँ घोषणा गरेको थियो। अहिले मलेसिया–भैरहवा ३१ हजार र मलेशिया काठमाडौं ५६ हजार रूपैयाँ दरमा एकतर्फी टिकट बिक्री गरिरहेको निगमले जनाएको छ।

निगमका उपनिर्देशक रमेश पौडेलले पहिलो चरणमा न्यरोबडीबाट सातामा एउटा उडान गर्ने बताए । भारतले एअररुट अनुमति दिईहाले चाँडै मलेसिया–भैरहवा–दिल्ली–काठमाडौं उडान गर्ने योजना रहेको उनले बताए । ०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यवसायिक उडान गर्नेमा कुबेतको जजिरा एयरलायन्स मात्रै थियो ।