
पूर्णपुष्टि, असार १९ । एसीसी पूरुष यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई फराकिलो रन आन्तरमा हराउँदै उपाधि जितेको छ । मंगलबार भएको फाईनल खेलमा नेपालले मलेसियालाई २२१ रन अन्तरमा पराजित गर्दै उपाधि चुमेको हो ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले मलेसियालाई २५३ रनको लक्ष्य दिएको थियो । निर्धारित ३५ ओभर खेलेको नेपालले ८ विकेट गुमाएर २५२ रन बनायो । नेपालले दिएको बिशाल रनको लक्ष्य पछ्याएको मलेसियाले १४.५ ओभरमा अलआउट हुँदै ३१ रनमात्र बनायो ।
नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दा मलेसियाको ब्याटरहरु धेरै समय मैदानमा टिक्न सकेनन् । नेपालका लागी कप्तान अभिषेक तिवारीले ५ विकेट लिए भने सन्तोष यादवले ३ विकेट लिए । सागर गिरी र अशोक धामीले समान १–१ विकेट लिए ।
नेपाली टोलीका लागी नरेन भट्टले शतक प्रहार गरे । ८९ बल खेलेका उनले दश चौका र दुई छक्का मद्दतमा सार्वाधिक ११२ रन बनाए । यस्तै, नेपालका लागि निरजकुमार यादवले ४७, सन्तोष यादवले २६, सूर्यांशु कोइरालाले १८, अशोक धामीले ११, दिपु कुमारले ५, कप्तान अभिशेक तिवारीले ४, आशिष लुहारले २ र प्रतिक भट्टराईले एक रन बनाए भने २६ रन एक्ट्रा पाएको थियो ।
मलेसियाका मोहम्मद अकरमले तीन तथा हजिक हाइकल, अरिन अक्ल र मुहम्मद फथुमुइनले समान एक–एक विकेट लिए ।
उमेर समूहको क्रिकेट नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू–१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजजा गरेको थियो । नेपालले यो उपाधि २०१७ र २०१९ मा जितेको थियो । २०१७ को फाईनलमा सिंगपुरलाई र २०१९ मा मलेसियालाई नै हराउँदै नेपालले उपाधि चुमेको थियो । यस संकरणको उपाघि जितेसँगै नेपालले ह्याट्रीक गरेको छ ।
