
पूर्णपुष्टि, फागुन २४ । मल्टिप्लेक्स हलले अभिनेता अनमोल केशीको फिल्म ‘छड्के’ २.० हटाएको छ । यस फिल्मलाई नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले रिलिज भएको छैटौं दिनमा हटाएको छ भने अन्य मल्टिप्लेक्स हल बिग मुभिज र वान सिनेमाजले एक–एक शो उपलब्ध गराएको छ ।
यस फिल्मसँगै रिलिज भएको ‘छक्का पन्जा ४’ ले बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको छ । फिल्मले निराशाजनक कमाइ गरेको र अनमोलको छैटौं दिनमा हलबाट उतारिएको यो पहिलो फिल्म हो । यो फिल्मको बजेट करिब ३ कोरोड रहेको छ ।
वितरक सुनिल मानन्धरले ‘छड्के’को अहिलेसम्मको कमाई ३० लाख रुपैयाँ मात्र रहेको बताए । फिल्म कमजोर बनेपछि दर्शक हलसम्म नआएको उनले बताए । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्म छड्केमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, रेशा आले मगर, सन्तोष मिजार, इफान अली, निगम श्रेष्ठ, चिरञ्जिवी अधिकारीलगायत कलाकारको अभिनय छ।
