
पूर्णपुष्टि,चैत्र १४ । आफ्नो माग पूरा गर्न बर्दिवासबाट ११ दिन पैदल हिडेर काठमाडौँ पुगेका मिटरव्याजीहरु सोमबार सडकमै रात बिताएका छन् । न्याय माग्न भन्दै हिँडेका पिडितहरु पहिलो दिन मातातीर्थमा बसेका उनीहरु दोस्रो दिन खुलामञ्चमा बस्ने उद्देश्यसहित आएपनि काठमाडौँ महानगरपालिकाले प्रवेश नदिएपछि मञ्चअगाडिकै सडकमा बसेका हुन् ।
पीडितहरुले केन्द्र सरकार आफ्नो अभिभावक सम्झेर काठमाडौं आएपनि प्रहरीको व्यवहार निर्दयी रहेको गुनासो गरेका छन् । यसैबीच सडकमा रात बिताएका उनीहरुले मंगलबार प्रधानमन्त्री निवासअगाडि धर्ना दिने कार्यक्रम छ ।
काठमाडौंका मेयर बालेन शाहले सामाजिक सञ्जालमा लेख्दै यस अभियानमा आफ्नो ऐक्यबद्धता भएको र रत्नपार्कको शान्ति वाटिकामा प्रदर्शन गर्ने प्रबन्ध गरेको बताएका छन्। यसअघि पशुपति धर्मशालामा बस्ने प्रबन्ध मिलाए पनि पीडितहरू नमानेको उनको भनाइ थियो ।
यसबीच नगर प्रहरी र मिटरब्याजी पीडितहरूबीच खुलामञ्चको गेटबाहिर केही बेर धकेलाधकेल भएको थियो । महानगरले उनीहरूलाई खुलामञ्चमा किन प्रवेश नदिएको भन्नेबारे जवाफ दिएको छैन। मेयरका स्वकीय सचिवले भने सार्वजनिक स्थानमा बस्न दिन नहुने बताएका थिए ।
अहिले गेटबाहिर सडकमा बसे पनि प्रहरीले आफूहरूले खान ल्याएका र बस्ने सामग्री पनि राख्न नदिएको अभियन्ता बर्तौलाले बताए।
