Wednesday, May 27News That Matters

महामारीमा रोजगारी गुमाएकालाई निःशुल्क तालिम र ऋणमा ब्याज अनुदान

काठमाडौं, फागुन २ ।
कोरोना महामारीका कारण रोजगारी गुमाएका युवालाई व्यवासायमा जोड्न तमानखोला गाउँपालिकाले तालिम र अनुदानका कार्यक्रम ल्याएको छ । कोरोना महामारीका बेला रोजगारी गुमाएका युवालाई स्वरोजगार बनाउन व्यवसायमा प्रेरित गर्न थालिएको हो । स्वरोजगारमूलक व्यवसाय गर्ने युवा तथा महिलाका लागि व्यवसाय गर्दा बैंक तथा वित्तीय संस्थाबाट लिने ऋणको ब्याज तिरिदिने र आवश्यक तालिम तथा प्रशिक्षण निःशुल्क उपलव्ध गराउने नीति गाउँपालिकाले लिएको हो ।
गाउँपालिकाले तयार गरेको कार्यविधिअनुसार रोजगारी गुमाएका जोकोहीले पनि तमानखोलाभित्र रहेका बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको सबै ब्याज गाउँपालिकाले नै तिर्ने भएको छ । दशौँ गाउँसभाबाट पारित भएको कार्यविधिले ऋणको ब्याज तिर्ने गरी युवा तथा महिलाले गर्ने व्यवसायमा लगानी गर्न सरोकारवालालाई आग्रहसमेत गरिएकोे छ । लगानीको अभावमा व्यवसाय सुरु गर्न नसकेका युवाका लागि गाउँपालिकाले बनाएको विधि उपयुक्त हुने अध्यक्ष जोकलाल बुढाले बताउनुभयो ।‘एक जनाले रु पाँच लाखदेखि २५ लाखसम्म व्यवसायको प्रकृति हेरेर ऋण लिनसक्ने व्यवस्था हामीले गरेका छौं’ उहाँले भन्नुभयो,“कोरोना महामारीका बेला स्वदेश तथा विदेशमा रोजगारी गुमाएका युवासाथी यो कार्यक्रममा सहभागी हुन सक्नुहुने छ ।”

कार्यविधि कार्यान्वयनमा आइसकेको अध्यक्ष बुढाले बताउनुभयो । गाउँपालिकामा महामारीको समयमा रोजगारी गुमाएकाको तथ्याङ्क भने तयार भइसकेको छैन् । गाउँमा नै स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्दा उत्पादन बढ्ने र अन्य सर्वसाधारणलाई समेत रोजागरीमा जोडिन वातावरण सहज हुने गाउँपालिकाको विश्वास छ ।गाउँपालिकाले स्वरोजगारमूलक व्यवसायमा लाग्ने युवा तथा महिलाका लागि प्रेरित गर्ने कार्यक्रमसमेत सञ्चालनमा ल्याएको छ । तालिम, प्रशिक्षण र प्रक्रियामा सहयोग गर्नेदेखि ऋणको ब्याज तिर्ने र गाउँपालिकाकै तर्फबाट अनुदान सहयोग गर्नेसम्मका कार्यक्रम छन् । (रासस)