Tuesday, May 12News That Matters

महिला हिंसा र मिडियाको उत्तरदायित्व विषयक अन्तरक्रिया सम्पन्न

पूर्णपुष्टि, बैशाख २९ । उदयपुरमा महिलामाथि हुने गरेको हिंसाको वर्तमान परिदृष्य र मिडियाको उत्तरदायित्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार नेपाल पत्रकार महासंघको सभाहलमा तरङ्गिनी फाउन्डेशन, ओरेक नेपाल शाखा उदयपुर र रौता समुदाय हित केन्द्रको आयोजना तथा नेपाल पत्रकार महासङ्घ शाखा उदयपुरको समन्वयमा महिलामाथि हुने गरेको हिंसाको वर्तमान परिदृष्य र मिडियाको उत्तरदायित्व विषयक अन्तरक्रिया कार्यक्रम संचालन भएको हो । नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रममा तिन वटै आयोजक संस्थाले आफ्नो काम बारे र संस्थाबारे प्रतिवेदन सार्वजनिक गरेका थिए ।

ओरेक र त्रियुगा नगरपालिकाको साझेदारीमा त्रियुगा नगरपालिका १० बाँसबारीमा सञ्चालित महिला सुरक्षा आवासमा जनवरीदेखि मार्च २०२६ सम्म १७ जना हिंसा पीडित महिलाले सेवा लिएका छन् । यस तिन महिनामा सुरक्षा आवास सेवा केन्द्रमा घरेलु हिंसा ९, यौन हिंसा ४, सामाजिक हिंसा २ र अन्य २ गरी जम्मा १७ वटा हिंसाका घटना दर्ता भएका छन् । उमेरगत समुहमा १० देखि १४ वर्ष उमेर समूहका किशोरी सर्वाधिक पीडित रहेका छन् । यस उमेर समूहका अधिकांश जबरजस्ती करणी र यौन हिंसाका पीडित भएको सुरक्षा आवासले जनाएको छ ।