Thursday, April 30News That Matters

उदयपुरमा मानवीय क्षतीसहित आठघर आगजनी : घर उभ्याउन नसक्दा कष्टपूर्ण बसाई

पूर्णपुष्टि, चैत २९ गते ।
जिल्लाको उदयपुरगढी गाउँपालिका १ शिखरपुरका आठ घर अग्नी पिडितहरुले आगलागीपछि नयाँ घर बनाउन सकेका छैनन् । नयाँ घर बनाउन नसक्दा उनीहरुको जीवन कष्टकर बनेको छ । गत चैत १३ गते । एकजना बृद्धाको मानवीय क्षतीसहित आठ घरमा आगजनी भएको थियो । उनीहरुको डेडकरोड बढी क्षती भएको थियो ।
घटना भएको दुईहप्ता वितिसक्दा पनि कसैले एउटासम्म घर उभ्याउन सकेका छैनन् । आगजनीबाट विचिल्नी परेका आठ घर परिवारलाई खानका लागि राहत मिलेपनि बस्ने राम्रो ब्यवस्था छैन । बालबालिका र महिलाहरु त्रिपालमुनी बस्नुपर्दा दिनचर्या कष्टकर बनेको छ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलका अनुसार दुईहप्ता अघि एकैबस्तीको आठघरमा आगजनी हुँदा अन्दाजी ७५ वर्षिया बृद्धा शिवमाया मगरको जलेर मृत्यु भएको थियो । आगजनीबाट ओम मगर, गम्बर मगर, शेरबहादुर मगर, भैरव बहादुर मगर, पदमबहादुर मगर, धनमाया मगर, डिकबहादुर मगर र मनमाया मगरको घर जलेर पूर्णरुपले क्षती भएको थियो । घरसंगै अन्नपात, लत्ताकपडा, भाडाँकुडा पूर्णरुपले जलेको र खसी, बाख्रा, बङ्गुर लगायत चौपायाहरु मरेर क्षती भएको थियो ।

पिडितहरुले आफुहरुको मुख्य चाहना घर उभ्याउन रहेको बताएका छन् । घर बनाएर ब्यवस्थित बसोबास गर्ने रहर आर्थिक अभावका कारण पुरा हुन सकेको छैन । जायजेथा जलेर नष्ट भएपछि ठूलो क्षती ब्यहोरेका पिडितहरु राहतका भरमा बसेका छन् । घरको खरानी हेरेर त्रिपालमुनी बसेका पिडितहरुलाई अझै हातमा काम आएको छैन । पिडितहरु नयाँ घर उभ्याउन नसक्दासम्म कहालीलाग्दो आगलागी घटना विर्सन नसक्ने भएका छन् ।
बस्तीका अधिकांश मानिसहरु घाँसदाउरा, मेलापात र विहिर गएको अवस्थामा आगलागी भएको थियो । एउटा गोठबाट एक्कासी उठेको आगोले बस्तिमा नजिक–नजिक रहेका आठवटा घर जलेको थियो । आगालागीको बेला बेस्सरी हावा चलेकोले नजिकका घरहरु जलेको थियो । एउटा बाहेक सबै घरमा फुसको छानो थियो । तीनदिन पछि मात्र आगलागी पूर्णरुपले नियन्त्रणमा आएको थियो । विजुली सर्ट भई आगलागी भएको अनुमान पिडितहरुको छ । बस्तीमा केही बालबालिका र केही ठुला मानिसमात्र थिए । अपाङ्ग अवस्थाकी बृद्धा धनमायाको भाग्न नसकेर आगोमा जलेर मृत्यु भएको थियो ।
पिडितहरुलाई प्रदेश सांसद बुर्जाको सहयोग

प्रदेश सांसद नारायण बुर्जा मगरले आठ पिडित घरपरिवारलाई प्रतिघर १० हजारका दरले आर्थिक सहयोग गर्नुभएको छ । उहाँले घटनास्थलमै पुगेर पिडितहरुलाई भेटेर सान्त्वनाका साथ आर्थिक सहयोग गर्नुभयो ।
आप्mनो निर्वाचन क्षेत्रका जनताको दुःख पिडामा साथ दिन र सकेको सहयोग गर्न हिजो घटनास्थल पुग्नु भएको हो । घटनास्थलको कहाली लाग्दो दृष्य अवलोकनपछि पिडितहरुलाई सान्त्वना दिदै उहाँले मन बलियो बनाई आप्mनो दुःख सुखको काममा लाग्न ढाडस दिनुभयो । आफु र आफुजस्ता थुप्रैले सहयोग र सद्भाव राखेको जानकारी दिदै उहाँले पिडितहरुलाई थप सहयोगको आश्वसन दिनुभयो ।
केही दिन अघि घटनास्थल पुग्नु भएको संघीय सांसद सुरेश कुमार राईले घरको छानोको लागि टिनको सहयोगको ब्यवस्था मिलाउने आवश्वसन दिनुभएको कुरा स्मरण गराउदै अन्य सहयोगका लागि आफुले पनि प्रदेश सरकारसंग आग्रह गर्ने बताउनुभयो ।
घटनास्थल र पिडितहरु भेटेपछि सांसद बुर्जाले उनीहरुको अवस्था दयनीय रहेको बताउनुभयो । उहाँहरुलाई आवासको राम्रो ब्यवस्था नभएसम्म कष्टकर हुने बताउनुभयो । सामान्य त्रिपालभित्र बस्दै आएका उनीहरुको नयाँ घर उभ्याउन सके छिट्टै मनको पिडाको घाउमा मलम लाग्ने बताउनुभयो । सकेको सहयोग सबैले गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।
घटनापछि गाउँपालिका, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, विभिन्न संघसंस्थाले विभिन्न राहत तथा सहयोग पुर्याएका छन् । पिडितहरुका अनुसार घरै गुमाएका पिडितहरुको मुख्य चाहना र चिन्ता घर उभ्याउन रहेको छ ।