Wednesday, June 10News That Matters

मुख्य निर्वाचन अधिकृतको कार्यालय मिडियामैत्री नभइदिदा मतगणना सुचनामा सकस

पूर्णपुष्टि, जेठ १३ ।
उदयपुरको आठ स्थानीय तह मध्ये त्रियुगा नगरपालिकाको मतगणना सुचना संकलनमा पत्रकारहरुलाई ठूलै सकस परेको छ । बेलाबेला मिडियामा अपडेट रिपोर्टिङ गर्नुपर्ने र आम पाठक, श्रोता र दर्शकहरुलाई जानकार बनाइ राख्ने जिम्मेवारी पुरा गर्न सकस परेको पूर्णपुष्टिका सहायक सम्पादक विक्रम राईले बताए । “जिल्लाको सातवटा पालिकाको मतगणनाको सुचना संकलनमा सकस महशुस भएन, तर सुविधा सम्पन्न ठाउँ सदरमुकाममै भएर पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सहजरुपमा पाउन सकिएन ।” पत्रकार राईले भने ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कुनै बेला पत्रकारलाई फोटो, भिडियो खिच्न रोक नदिने, कहिले गणनास्थलमै प्रवेश गर्न नदिने त कहिले मत परिणामको सुचनामा ढिलाई गरिदिनाले पत्रकारहरुलाई सुचना संकलन र सम्प्रेक्षणमा सकस परेको पत्रकार गजेन्द्र राईले बताए । उनले पत्रकार महासंघ शाखालेसमेत यसपटक मुख्य निर्वाचन अधिकृतको कार्यालयसंग राम्रो समन्वय गर्न नसकेको गुनासो उनको छ । आज दिनैभर जसो मतपरिणामको सुचना नदिदा समाचार लेख्न समस्या परेको गुनासो पत्रकारहरुको छ । आज दिनैभर जसो घरघरमा मिडियाको समाचार हेरेर मतगणनाको बारे थाहा पाउने सर्बसाधारण सुचनाबाट बन्चित बने ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकारीहरुले भनेको बेला फोनसमेत नउठाउने हुँदा सुचना संकलनमा झनै समस्या परेको पत्रकारहरुको अनुभव छ ।
मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले आज ढिलाई हुनुमा कम्प्युटरमा डाटा अपडेटको क्रममा सुत्रमा समस्या आउनु कारण भएको बताउनु भयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मिडियामैत्री सुचना ब्यवस्थापन गर्न सके सर्बसाधारणको मतगणनाप्रतिको चासो र जिज्ञासालाई पुरा गर्न र उनीहरुले पाउनुपर्ने सुचनाको हकको सम्मान हुने देखिन्छ ।