
पूर्णपुष्टि, जेठ १४ ।
उदयपुरको त्रियुगा नगरपालिकाको करिब ६० प्रतिशत मत गणना हुँदा नेपाली काङ्ग्रेसले फराकिलो अग्रता पाएको छ । त्रियुगा नगरमा खसेको कुल मत ४० हजार १७९ मत मध्ये गणना भएको २३ हजार ९७५ मतमा काङ्ेसको प्रमुख पदका उम्मेदवार बसन्त बस्नेतले ८२०० मत पाएका छन् । यो मत दोस्रो स्थानमा रहेको नेकपा एमालेको भागवत राउतको भन्दा १ हजार ८२३ मत बढि हो भने गठबन्धनतर्फको नेकपा (एकिकृत समाजवादी) को बलदेव चौधरीको भन्दा १ हजार ८९८ मत बढि हो । यो परिणामको गणनासम्म आउँदा सुरुदेखि तेस्रोस्थानमा रहेको एमाले गठबन्धनलाई पछि पार्दै दोस्रो स्थानमा आएको हो । एमालेका राउतको प्रात मत ६ हजार ३७७ र गठबन्धनको चौधरीको मत ६ हजार ३०२ रहेको छ ।
उपप्रमुखतर्फ काङ्ग्रेसकी सरिता राईको ७ हजार ४१० मतका साथ अग्रता छ । दोस्रो मत एमालेकी महेश्वरी राईको ७ हजार ५४ रहेको छ भने तेस्रोमा गठबन्धनतर्फको नेकपा (माओवादी केन्द्र) की गिता खड्का कार्कीको ४ हजार ८२५ रहेको छ ।
यतिन्जेलमा नगरको नौ वटा वडाको गणना सकिएको छ । १६ वटा वडा रहेको त्रियुगामा वडा नं. १, २, ३, ४, ५, १३, १४, १५ र १६ वडामा गणना सकिएको छ । वडा नं. ६, ७, ८ तीनवटा गणना चलिरहेको छ भने ९, १०, ११ र १२ वडा गणना बाँकी छन् ।
गणना सकिएको नौं वटा वडाहरुमध्ये १, ३, ४, ५ र १३ गरी ५ वटामा काङ्ग्रेसको वडाध्यक्षले जितेको छ । वडा नं. १४, १५ र १६ गरी ३ वटामा गठबन्धनतर्फको नेकपा (माओवादी केन्द्र) को वडाध्यक्षले जितेको छ भने वडा नं. २ मा नेकपा एमालेले वडाध्यक्ष जितेको छ । विजयी वडाध्यक्षहरुमा १ नं. वडाध्यक्षमा काङ्ग्रेसको मनोजकुमार चौधरी, २ नं. वडाध्यक्ष एमालेका घमानसिंह खत्री, ३ न. वडाध्यक्ष काङ्ग्रेसको तीलकबहादुर कटुवाल, ४ नं. वडाध्यक्षमा काङ्ग्रेसको बद्री बस्नेत र ५ नं. वडाध्यक्षमा काङ्ग्रेसकै उद्धवकुमार थापाले विजय हाँसिल गरेका छन् । त्यस्तै १३ नं. वडाध्यक्षमा काङ्ग्रेसको नविनकुमार चौधरी, १४ नं. वडाध्यक्षमा माओवादी केन्द्रको हिमराज मगर, १५ नं. वडाध्यक्षमा माओवादीकै गणेशप्रसाद तिम्सिना र १६ नं. वडाध्यक्षमा माओवादीकै मानबादुर राई विजयी भएका छन् । वडाहरु १, २, ५, १६ का वडाध्यक्ष पुनः निर्वाचित हुन् भने अन्य नयाँ अनुहार हुन् ।
वडाहरुमा बढीजसो काङ्ग्रेसको जीत र हरेक वडाबाट राम्रो मत प्राप्त भइरहेको देखिएकाले सर्बसाधारणहरुले त्रियुगाको प्रमुखमा काङ्गेसको जीतको आकलन गर्न थालेका छन् । उपप्रमुखमा भने काङ्ग्रेस र एमालेको प्रतिष्पर्धा हुने देखिएको छ ।
