पूर्णपृष्टि,पुष १६ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएका सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । नेपाली कांग्रेस र उसका भ्रातृ सङ्गठनहरुले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् ।
२०३३ सालको पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाईँ, नीलाम्बर पन्थीलगायत नेता आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनलाई कांग्रेसले मेलमिलाप दिवसको रुपमा मनाउने गरेको छ ।
छिमेकी मुलुक भारत निर्वासितमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहेका कोइरालालगायत नेताले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४६ वर्षअघि स्वदेश फर्किएका थिए । तर कांग्रेस नेताहरुलाई पक्राउ गरी जेल चलान गरिएको थियो ।
देशको सार्वभौमसत्ता संरक्षणका लागि बिपीलगायत नेता ज्यानको बाजी थापेर स्वदेशमै फर्किएका थिए । यही दिनको सम्झनामा कांग्रेसले हरेक पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको हो ।
