Monday, April 20News That Matters

मेची अस्पताल सुधारका लागि ६ दलको प्रतिबद्धता

पूर्णपुष्टि, साउन २७ गते ।
झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको सुधारका लागि यहाँका राजनीतिक दलहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अस्पतालका विविध क्षेत्रमा भएका समस्याको सुधारका लागि मेची प्रादेशिक सुधार समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यहाँका राजनीतिक दलका प्रतिनिधिहरुले अस्पताल सुधारका लागि गर्नुपर्ने हरप्रकारको सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
अस्पताल सुधार समितिका अध्यक्ष दिपक तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा छ वटा दलका प्रतिनिधिहरुले सुधार समितिले राम्रो कामको थालनी गरेको र सो कार्यमा आफूहरुको पूर्ण समर्थन हुने जनाएका थिए ।
अन्तरक्रियामा अस्पताल सुधारका लागि राजनीतिक दलको धारणा, सुधार समितिलाई हेर्ने दृष्टिकोण, सुधार र स्तोन्नति लगायतका विषयमा छलफल गरिएको थियो ।
समितिका अध्यक्ष तिम्सिनाले सुधार समितिले हालसम्म गरेका कामकारबाहीका बारे जानकारी गराउनुभएको थियो । उहाँले समितिबारे केही प्रश्न, जिज्ञासा भए सो पनि राख्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसबाट भक्त खवास, नेकपा एमालेबाट असारु राजवंशी, नेकपा माओवादी केन्द्रबाट राजु आचार्य (अग्नि), डिल्ली घिमिरे (हिक्मत), शिवकुमार राजभण्डारी, जनता समाजवादी पार्टीबाट निरबहादुर राई, नेकपा एकीकृत समाजवादीबाट देवी अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सागर घिमिरे लगायतले मेची अस्पतालका समस्या समधान गर्न राजनीतिक दलका तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँहरुले सबै राजनीतिक दलले अस्पतालको स्तरोन्नतीका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।
सुधार समितिले अस्पतालको सुधारका लागि ३६ बँुदे मागसहित ज्ञापन पत्र अस्पताल प्रशासन, व्यवस्थापन समिति, भद्रपुर नगरपालिका, प्रदेश नं. १ को स्वास्थ्य मन्त्रालयलाई बुझाइसकेको सुधार समितिका फोकल पर्सन राजेश गुप्ताले जानकारी दिनुभयो । कार्यक्रमको संयोजन सम्वाद समूह झापाले गरेको उहाँले बताउनुभयो ।