Friday, May 15News That Matters

मेयर चौधरीसंग मुसहर समुदायको खुल्ला अन्तरक्रिया

पूर्णपुष्टि (उदयपुर), माघ २९ गते ।
उदयपुरको त्रियुगा नगरपालिकाका मुसहर समुदायले जिविकोपार्जनका बारेमा मेयर बलदेव चौधरीसंग खुलेर अन्तरक्रिया गरेका छन् । अन्तरक्रियामा उनीहरुले ब्यवसायिक सीप र ज्ञानको माग राखेका छन् ।
मुसहर समुदायको पेशा परिवर्तन गरी शिक्षा, स्वास्थ्य लगायत जिविकोपार्जनमा सहजता ल्याउने उद्देश्यले नगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा उनीहरुले मेयर चौधरीसंग खुलेर अन्तरक्रियासंगै सीपमुलक तालिम र जनचेतनामुलक कार्यक्रमको मा राखे ।
मेयरका स्वकीय सचिवसमेत रहेका अगुवा युवा विजली सदाका अनुसार मुसहर समुदायका अगुवाहरुले मेयर बलदेव चौधरीसंग अगरबत्ती बनाउने, सिलाईकटाई, दालमोठ भुजिया बनाउने, तरकारी तथा पशुपालन आदि सम्बन्धी तालिमको माग राखे । उनीहरुले आयआर्जन मुलक सीपका साथै शिक्षा, स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रमको माग राखेको सदाले बताए ।
उनीहरु ज्याला, मजदुरी र बनिबुतोको भरमा जिविकोपार्जन गरिरहेका छन् । राजनैतिक, सामाजिक, आर्थिक सबै हिसावले सो समुदाय पछि परेको छ । जमिनको स्वमित्वबाट बञ्चित, उद्यमदेखि टाढा रहेका सो समुदाय शिक्षा, स्वास्थ्यको पहुँचबाट पनि पर रहेका छन् । सो समुदायलाई विहान, बेलुका के खाने, के लाउने भन्नु कुराको धौ धौ छ भने बालबालिकाले विद्यालय छाड्ने दर उच्च रहेको मुसहर समुदायका अगुवा मिश्रिलाल सदाले बताए ।
यिनै कुराहरुलाई मध्येनजर गर्दै उनीहरुलाई आयआर्जनमुलक सीप प्रदान गरेर जिविकोपार्जनमा सहजता ल्याउन र समुदायलाई अगाडी बढाउन खोजिएको मेयर बलदेव चौधरीको भनाई छ । मेयर चौधरीका अनुसार उनीहरुको आप्mनो इच्छा र धारणासमेतको कदर गर्दै कार्यक्रम गरिनेछ । सो समुदायको समग्र विकास र जीवन पद्धती परिवर्तनका लागि प्रदेश सरकारसंग विशेष कार्यक्रम प्रस्ताव गरिएको जानकारी मेयर चौधरीले दिएका छन् । दुई करोड बराबरको मुसहर समुदाय लक्षित कार्यक्रम स्विकृत भएको खण्डमा मुसहर समुदायको सबै बस्तिमा आधुनिक ढङ्गको घर निर्माण र आयआर्जन, शिक्षा, स्वास्थ्यको ब्यवस्था गरिने उनले बताएका छन् ।
सो समुदायलाई उद्यमशिलता सीप र प्रविधि निःशुल्क सहयोग गर्न आवश्यक रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले बताए । उनीहरुको परम्परागत सीपलाई परिवर्तन गरेर आयआर्जनमुलक सीपबाट जिविकोपार्जनमा सहजता आउने थापाको भनाई छ ।
नगरपालिकाको १६ मध्ये १०, १४, १५ र १६ बाहेक सबै वडामा बसोबासी रहेको मुसहर समुदाय नगरमा ५५८ घरधुरी छन् । एउटै टोलमा समेटिएर बस्ने, छरिएर बसोबास नगर्ने विशेषता रहेको सो समुदायको नगरमा जनसंख्या २ हजार ५०९ रहेको छ । सिङ्गो जिल्लाको एकमात्र मुसहर समुदायको जनप्रतिनिधि त्रिनपा–१२ की वडा सदस्य किसनवती सदाले त्रियुगा नगरपालिकाले सदा समुदायको हितमा कार्यक्रम अगाडी बढाएकोमा खुसी ब्यक्त गरेकी छिन् । कार्यक्रममा सहभागि मुसहर समुदायका अगुवाहरुलाई मेयर चौधरीले खादा ओढाई सम्मान गरेका थिए ।