
पूर्णपुष्टि, साउन ९ । मोरङमा तीन प्रमुख सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबीच गम्भीर विवाद र आरोप प्रत्यारोपको स्थिति उत्पन्न भएको छ।
सुरक्षा स्रोतका अनुसार तीनै निकायका प्रमुखहरूबीच बोलचाल बन्द रहेको र एक अर्काविरुद्ध बेनामी उजुरीहरू दर्ता गरिएको छ। प्रधानमन्त्री कार्यालयमा दर्ता भएको एक बेनामी उजुरीमा नेपाल प्रहरीका एसपी नवराज कार्कीमाथि घुमुवा प्रहरी परिचालन गरेर तस्करी गराएको र मासिक ३० लाखसम्म उठाएको आरोप लागेको छ। उजुरीमा उल्लेख भए अनुसार, ‘एसपी कार्कीले सीमा क्षेत्रमा घुमुवा परिचालन गरेर तस्करी खुलाएको र व्यापक पैसा उठाएको’ आरोप छ।
त्यसैगरी, ‘पीडित व्यापारी मुसाफिर’ नामक अर्को बेनामी उजुरीमा राष्ट्रिय अनुसन्धानका एसपी तिलक प्रसाईंमाथि पनि तस्करहरूसँग पैसा उठाएको आरोप लगाइएको छ। उजुरीमा भनिएको छ, ‘एसपी साहेबले अफिसमा हामीलाई आफैँ फोनबाट पटकपटक कल गरी बोलाइराख्नु भएको छ।’
एक विश्वस्त स्रोतका अनुसार यी आरोपहरूको छानबिन भइरहेको भए तापनि कुनै ठोस निष्कर्ष निस्किएको छैन। सुरक्षा निकायहरूबीचको यो विवादले सीमा क्षेत्रमा तस्करी बढ्न सहज वातावरण बनेको देखिएको छ। जोगवनी जस्ता महत्वपूर्ण नाकाहरूमा सरुवाको लागि ठूलो लेनदेन हुने गरेको र यसको उद्देश्य तस्करीको लाइन मिलाउनु रहेको आरोप समेत लागेको छ।
