
पूर्णपुष्टि, साउन ९ । नेपालमा १३ वर्षपछि पोलियो भाइरस फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंको टुकुचा–बागमती संगम नजिकको ढलबाट संकलित नमुनामा ‘भ्याक्सिन डेरिभ्ड पोलियो भाइरस–टाइप ३’ भेटिएको हो।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यो भाइरस वातावरणमा मात्रै रहेको र मानिसमा नभेटिएको जानकारी दिए। उनका अनुसार गत जेठ १३ गते संकलित नमुनामा भाइरस भेटिएको थियो, तर जेठ २२ गते पुनः संकलित नमुनामा भाइरस फेला परेन।
यस जोखिमबाट बच्न काठमाडौं उपत्यकामा आजदेखि १२ गतेसम्म विशेष पोलियो खोप अभियान सञ्चालन गरिँदैछ। बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार यस अभियान अन्तर्गत उपत्यकाका २ लाख ८० हजार बालबालिकालाई खोप लगाइने छ। विश्व स्वास्थ्य संगठनले सन् २०२६ सम्ममा पोलियो रोग उन्मूलन गर्ने लक्ष्य लिएको छ। नेपालमा सन् २०१० यता मानिस वा वातावरणमा पोलियो भाइरस भेटिएको थिएन। मन्त्रालयले अभिभावकहरूलाई आफ्ना ५ वर्षमुनिका बालबालिकालाई अनिवार्य रूपमा यस खोप अभियानमा सहभागी गराउन आग्रह गरेको छ।
